युवालाई निःशुल्क एआई तालिम दिँदै सरकार, २ हजार जनालाई सहभागी गराइने
काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले युवाहरूलाई कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी व्यावहारिक सीप प्रदान गर्ने उद्देश्यले निःशुल्क अनलाइन तालिम सञ्चालन गर्ने भएको छ।
‘एआईको प्रभावकारी प्रयोग तथा प्रम्प्ट लेखन’ विषयमा केन्द्रित तालिम कात्तिक १८ र १९ गते सञ्चालन हुनेछ। दुवै दिन बिहान १० देखि १२ बजेसम्म र बेलुका ६ देखि ८ बजेसम्म गरी चारवटा छुट्टाछुट्टै सत्र सञ्चालन गरिने प्रतिष्ठानले जनाएको छ।
प्रत्येक सहभागीलाई चारमध्ये कुनै एक सत्रमा सहभागी गराइनेछ। प्रत्येक सत्रमा ५०० जनाका दरले कुल २ हजार जनालाई तालिममा सहभागी गराउने लक्ष्य राखिएको छ।
तालिममा च्याटजीपीटी, क्लडलगायतका कृत्रिम बुद्धिमत्तामा आधारित उपकरणको प्रभावकारी प्रयोग, स्पष्ट तथा उपयोगी प्रम्प्ट लेखन र एआईको सहयोगमा इमेल, टिपोट, बैठकका निर्णय तथा आकर्षक प्रस्तुतीकरण तयार गर्ने व्यावहारिक सीप सिकाइनेछ।
त्यसैगरी, एआईको प्रयोगबाट तस्बिर तथा छोटा भिडियो निर्माण, प्रविधिको जिम्मेवार प्रयोग र एआईबाट प्राप्त जानकारीको सत्यता परीक्षण गर्ने विधिबारे पनि प्रशिक्षण दिइनेछ।
तालिमले युवाहरूलाई अध्ययन, रोजगारी तथा व्यावसायिक गतिविधिमा एआई प्रविधिको प्रभावकारी उपयोग गर्न सक्षम बनाउने लक्ष्य राखेको छ। मन्त्रालयले अनलाइन माध्यमबाट प्रत्यक्ष तालिम सञ्चालन गर्न लागेको यो नयाँ अभ्याससमेत हो।
तालिममा सहभागी हुन इच्छुक व्यक्तिहरूले अनलाइनमार्फत आवेदन दिन सक्नेछन्। आवेदन दिएका सहभागीलाई कुन सत्रमा सहभागी गराइने भन्ने जानकारी तालिम सुरु हुनुअघि उपलब्ध गराइने मन्त्रालयले जनाएको छ।

