अमेरिका र इजरायललाई खामेनीको चेतावनी : आक्रमण भए अब ‘भौगोलिक सीमा’ हेरिने छैन

एजेन्सी । इरानका सर्वोच्च नेता अयातोल्लाह मोज्तबा खामेनीले अमेरिका र इजरायलबाट कुनै पनि प्रकारको आक्रमण भए तत्काल सैन्य जवाफ दिन सेनालाई निर्देशन दिएका छन्।

उनले जवाफी कारबाही गर्दा ‘भौगोलिक सीमा’ समेत नहेर्न भनेका छन्। इरानको सरकारी समाचार एजेन्सी आइआरएनएका अनुसार खामेनीले अमेरिका र इजरायलबाट आउने जुनसुकै प्रकारको खतरा र आक्रमणको तत्काल जवाफ दिनुपर्ने बताएका हुन्।

उनले सैन्य कमान्डरहरूसँगको भेटमा सम्भावित अमेरिकी र इजरायली लक्ष्यहरूको सूची अद्यावधिक गर्न पनि निर्देशन दिएका छन्। उनले सेनालाई कुनै पनि परिस्थितिको सामना गर्न तयार रहन भनेका हुन्। उनको यो चेतावनीले इरान र अमेरिका तथा इजरायलबिच पुनः सैन्य तनाव बढ्न सक्ने संकेत गरेको छ।

फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि संयुक्त आक्रमण गरेपछि खामेनी सार्वजनिक रूपमा देखिएका छैनन्। उक्त आक्रमणमा उनका बुबा तथा तत्कालीन सर्वोच्च नेता अली खामेनीको मृत्यु भएपछि उनी नयाँ सर्वोच्च नेता बनेका हुन्। सरकारी सञ्चारमाध्यमका अनुसार उनले पछिल्ला हप्तामा विभिन्न वरिष्ठ अधिकारी तथा सैन्य कमान्डरसँग भेटघाट गर्दै आएका छन्।

यसैबिच, इरानका विदेशमन्त्री अब्बास अराघचीले होर्मुज जलमार्ग दुई दिनभित्र पूर्ण रूपमा खोल्न सकिने नयाँ प्रस्ताव अघि सारिएको बताएका छन्। मध्यस्थकर्ताहरूसँग भएको छलफलपछि यस्तो प्रस्ताव तयार भएको उनको भनाइ छ। इरानी प्रतिनिधिहरूले कूटनीतिक छलफलका लागि कतारको राजधानी दोहामा मध्यस्थकर्ताहरूसँग भेट गरेका थिए।

यसअघि इरानले अमेरिकाले आफ्ना बन्दरगाहमाथिको नाकाबन्दी हटाउने, रोक्का गरिएको इरानी सम्पत्ति फुकुवा गर्ने र तेल बिक्रीमा लगाइएको प्रतिबन्ध हटाउने सहमति गरेमा एक साताभित्र होर्मुज जलमार्ग खोल्ने प्रस्ताव गरेको थियो। तर अमेरिकाले उक्त प्रस्ताव स्वीकार गरेको थिएन।

अराघचीले अमेरिकी अधिकारीहरूसँग प्रत्यक्ष भेट्ने तत्काल कुनै योजना नरहेको बताए। यद्यपि, अमेरिकाले व्यापक संवादका लागि गरेको पछिल्लो प्रयासलाई सकारात्मक रूपमा लिएको उनको भनाइ छ। वार्ता प्रत्यक्ष वा अप्रत्यक्ष कुन माध्यमबाट अघि बढ्ने भन्ने विषय अमेरिकाले इरानका सर्त स्वीकार गरेपछि मात्र तय हुने उनले बताएका छन्।

इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का प्रमुख मोहसेन रेजाईले पनि अमेरिकाको व्यवहार र बोल्ने शैलीमा परिवर्तन आएको बताएका छन्। अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानी अधिकारीहरूलाई पठाएको पत्र आफूले पढेको तर त्यसको जवाफ नदिएको उनले बताए। ‘अमेरिकाको बोल्ने शैली पूर्ण रूपमा परिवर्तन भएको छ। यो निकै राम्रो संकेत हो,’ रेजाईले सरकारी टेलिभिजनसँग भनेका छन्।

रेजाईका अनुसार होर्मुज जलमार्ग पुनः खोलिएपछि जहाजहरूले इरान र ओमानबिच सहमति भएको मार्ग प्रयोग गर्नुपर्नेछ। उक्त जलमार्गबाट आवतजावत गर्ने जहाज इरानको व्यवस्थापनमा सञ्चालन हुनुपर्नेछ। उनले अमेरिकाले इरानका सर्त स्वीकार नगरेसम्म आणविक कार्यक्रमबारे वार्ता हुन नसक्ने पनि बताएका छन्।

इरानको आणविक नीतिमा परिवर्तन गर्ने विषयमा समेत छलफल भइरहेको रेजाईले खुलासा गरेका छन्। उनले इरानमाथि पुनः आक्रमण भए आणविक हतियार विकासमाथिको लामो समयदेखिको प्रतिबन्ध हटाउने कि नहटाउने भन्ने विषयमा केही पक्षले प्रश्न उठाएको बताए। तर यसबारे कुनै निर्णय भइसकेको छैन। अमेरिकाले इरानलाई आणविक हतियार विकास गर्नबाट रोक्न खोज्दै आएको छ भने तेहरानले आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण प्रयोजनका लागि भएको दाबी गर्दै आएको छ।

यसैबिच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूबिच फोनवार्ता भएको दाबी गरिएको छ। इरानमाथि पुनः आक्रमण गर्ने सम्भावनाबारे छलफल भइरहेका बेला उनीहरूबिच कुराकानी भएको बताइएको हो।

ट्रम्पले पत्रकारहरूसँग कुरा गर्दै इरानका थप एक वा दुई स्थानमा कारबाही गर्नुपर्ने बताएका छन्। उनले ती स्थानमा छोटो समयमै आक्रमण गर्न सकिने दाबी गरेका हुन्। इरानसँगको वार्ता राम्रोसँग अघि बढिरहेको बताए पनि उनले तेहरानमाथि पूर्ण विश्वास गर्न नसकिने टिप्पणी गरेका छन्।

अमेरिकी मध्यावधि निर्वाचनपछि इरानमाथि पुनः सैन्य कारबाही हुन सक्ने आशंका मध्यपूर्वका देशहरूमा बढेको छ। नोभेम्बर ४ पछि इरानमाथि छोटो तर तीव्र आक्रमण हुन सक्ने भन्दै अमेरिकाले खाडी क्षेत्रका सहयोगी देशहरूलाई तयारी अवस्थामा रहन चेतावनी दिएको छ। सम्भावित अमेरिकी आक्रमणको जवाफमा इरानले छिमेकी देशहरूमा रहेका अमेरिकी र इजरायली लक्ष्यलाई निशाना बनाउन सक्ने चेतावनी दिँदै आएको छ।

यद्यपि, अमेरिका र इरानबिच थप सैन्य तनाव हुन नदिन कतारसहितका मध्यस्थकर्ताहरूले कूटनीतिक प्रयास जारी राखेका छन्।