११ गतेदेखि १५ गतेसम्म पानी पर्ने भएकाले सावधानी अपनाउन आग्रह

काठमाण्डौ । बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणाली चक्रवात (आँधी) मा परिणत हुने र त्यसको प्रभाव नेपालमा पनि पर्ने भएको छ ।

मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन निकालेर आउँदो हप्ता नेपालको मौसम प्रभावित हुन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । महाशाखाका अनुसार न्यूनचापीय क्षेत्र क्रमशः बलियो हुँदै कात्तिक ९ गते चक्रवात आँधीमा विकसित भई भारतको उत्तर आन्ध्र प्रदेश तथा दक्षिण ओडिसा आसपासको तटबाट जमिनमा प्रवेश गर्न सक्ने सम्भावना छ ।

यस मौसम प्रणालीको प्रभावका कारण कात्तिक ११ गते बुधबारदेखि कात्तिक १५ गते आइतबारसम्म नेपालमा मौसम बदली तथा वर्षा हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । यद्यपि, नेपालमा कति वर्षा हुन्छ, जोखिमको स्तर कस्तो रहन्छ र यसले कस्तो असर पार्न सक्छ भन्नेबारे अहिले नै यकिन गर्न नसकिने महाशाखाको भनाइ छ । सम्भावित प्रतिकूल मौसमले कृषि तथा पर्यटन क्षेत्रमा असर पार्न सक्ने भएकाले सतर्क रहन महाशाखाले आग्रह गरेको छ ।

महाशाखाका अनुसार मौसमसम्बन्धी मोडल तथा भू–उपग्रहबाट प्राप्त तस्बिर र तथ्याङ्कको विश्लेषणका आधारमा यस प्रणालीको विकास क्रमबारे निगरानी भइरहेको छ । प्रणालीको अवस्था र सम्भावित प्रभावबारे थप जानकारी प्राप्त भएपछि आवश्यकताअनुसार सूचना अद्यावधिक गरिने पनि महाशाखाले जनाएको छ ।

863574774_1450798910265587_6860165240332852597_n-(1)-1792800179.jpg