दशैँको टीकाको दोस्रो दिन आज पनि टीका–जमरा ग्रहण गरिँदै

काठमाण्डौ ।  दशैँको टीकाको दोस्रो दिन आज पनि आफन्त तथा मान्यजनको हातबाट टीका–जमरा ग्रहण गरिँदैछ ।

खासगरी टाढा रहेका आफन्त तथा मान्यजनकहाँ टीकाको दिनदेखि कोजाग्रत पूर्णिमाको दिनभित्र पुगेर दशैँको टीका थाप्ने र आशीर्वाद लिने चलन छ ।

देवीको प्रसाद भएकाले कोजाग्रत पूर्णिमासम्म टीका लगाउन सकिने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । धेरैजसो ठाउँमा कोजाग्रत पूर्णिमाका दिनसम्म नै टीका, जमरा लगाई आशीर्वाद थापिन्छ ।

तर नेपालका केही भागमा भने कुल, परम्परा अनुसार हिजो विजयादशमीको दिन मात्र दुर्गा देवीको प्रसादका रुपमा टीका र जमरा लगाउने गरिन्छ । कोजाग्रत पूर्णिमाको दिन राति जाग्राम बसी महालक्ष्मीको पूजा गरेपछि १५ दिन लामो बडादशैँ सकिन्छ ।

घटस्थापनाका दिन घरघरमा जमरा राखेर शुरु भएको बडादशैँमा नवरात्रभर शक्तिस्वरूपा नवदुर्गाको पूजा आराधना गरिएको थियो ।

असत्यमाथि सत्य र अन्यायमाथि न्यायको विजयको प्रतीकका रूपमा मनाइने विजयादशमीले नेपाली समाजमा सुख, शान्ति, सद्भाव र समृद्धिको कामना बोकेको छ ।