एनपीएलमा पहिलो पटक डीआरएस प्रविधि प्रयोग हुने

काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो पटक डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रविधिको प्रयोग हुने भएको छ । एनपीएलको तेस्रो संस्करणमा डीआरएस को प्रयोग हुने भएको हो ।

एनपीएलको फेसबुक पेजमा आज सार्वजनिक भिडियोमा डीआरएस प्रयोग हुने बारे औपचारिक जानकारी गराइएको छ । नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले यसअघि एनपीएलमा डीआरएस भित्र्याउनेबारे छलफल भैरहेको जानकारी दिनुभएको थियो ।

डीआरएस क्रिकेटमा पछिल्लो समय प्रयोग हुँदै आएको चर्चित प्रविधि हो । यसले अम्पायरको निर्णय चित्त नबुझेमा वा गलत भएजस्तो लागेमा त्यसलाई रिभ्यू गर्ने अवसर प्रदान गर्न सक्छ ।

यससँगै नेपाली क्रिकेटमा प्रविधिको प्रयोग र खेलको निर्णय प्रक्रियालाई थप व्यवस्थित बनाउने नयाँ उपलब्धि थपिएको छ । एनपीएल यही कात्तिक ९ गतेदेखि मङ्सिर ५ गतेसम्म कीर्तिपुरमा रहेको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुँदैछ ।