सरकारले २ हजार भन्दा धेरै विद्यार्थी भएका १०९ स्कुलमा ६ अर्ब रुपैयाँ लगानी गर्दै
काठमाण्डौ । सरकारले सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावकमा आकर्षण वृद्धि गर्न पूर्वाधार विकासको योजना अघि बढाएको छ ।
उत्कृष्ट नतिजा हासिल गर्दै २ हजारभन्दा धेरै विद्यार्थी अध्ययनरत देशभरका १०९ वटा ठुला सामुदायिक विद्यालयलाई प्राथमिकतामा राखेर भौतिक पूर्वाधार विस्तारको काम थालिएको शिक्षा मन्त्रालयले जनाएको छ ।
यसै चालु आर्थिक वर्षमा ती विद्यालयको संरचना सुदृढीकरणका लागि कूल ६ अर्ब ५४ करोड रुपैयाँ बजेट विनियोजन गरिएको शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले बताउनुभएको छ । उहाँका अनुसार, योजनाअन्तर्गत पहिलो चरणमा ८९ वटा विद्यालयका लागि ५ अर्ब ३४ करोड रुपैयाँ निकासा भइसकेको छ ।
निकासा भएको रकममार्फत ती विद्यालयमा अत्याधुनिक १२ कोठे तीन तले भवन निर्माणको काम अघि बढ्नेछ । प्रतिविद्यालय झण्डै ६ करोड रुपैयाँको लागतमा बन्ने यी भवनमा आधुनिक कक्षाकोठा, व्यवस्थित प्रयोगशाला र समृद्ध पुस्तकालयको समेत व्यवस्था हुनेछ ।
यसले विद्यार्थीहरूको सिकाइ वातावरणलाई अझ सुरक्षित, व्यवस्थित र प्रभावकारी बनाउने मन्त्री पोखरेलको विश्वास छ ।

