नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

काठमाण्डौ ।  नवरात्रको चौथो दिन आज दशैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ ।

हरेक वर्ष असोज शुक्ल चतुर्थी अर्थात् दुर्गा पक्षको चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गर्ने शास्त्रीय विधि छ ।

नवरात्रको पहिलो दिन गएको असोज २५ गते आइतबार दशैँ घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो ।  त्यसै दिन घटस्थापना गरिएको ठाउँमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरियो ।

दोस्रो दिन अस्ति सोमबार ब्रह्मचारिणी देवी तथा हिजो चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजाआराधना गरिएको थियो । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठ पनि गरिन्छ ।

वैदिक सनातन धर्मावलम्बीले हरेक वर्ष असोज शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ ।

नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवम् दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्छ ।