नेपालमा भाषा व्यवस्थापन, नीति तथा योजना विषयक गोष्ठी सम्पन्न
काठमाण्डौ । नेपालमा भाषा व्यवस्थापन, नीति तथा योजनासम्बन्धी विषयमा केन्द्रित गोष्ठी आज काठमाडौंमा सम्पन्न भएको छ।
राष्ट्रिय भाषा तथा सांस्कृतिक संघ, नेपालको आयोजनामा तथा बुढानीलकण्ठ नगरपालिकाको सहयोगमा ‘नेपालमा भाषा व्यवस्थापन, नीति तथा योजना विषयक गोष्ठी–२०८३’ आयोजना गरिएको हो।
आज बिहान ११ बजेदेखि गोष्ठी सञ्चालन भएको थियो। गोष्ठीमा प्रा.डा.माधवप्रसाद पोखरेल प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

कार्यक्रममा डा.भीमलाल गौतमले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। त्यसैगरी डा.लवदेव अवस्थी, डा.वृन्दा बज्राचार्य र डा.तारामणि राईले टिप्पणीकारका रूपमा विषयमाथि धारणा राख्नुभएको थियो।
नेपालमा भाषाको संरक्षण, संवर्द्धन तथा व्यवस्थापन, भाषासम्बन्धी नीति निर्माण र योजनाको प्रभावकारी कार्यान्वयनजस्ता विषय गोष्ठीका प्रमुख क्षेत्र रहेका थिए।
नेपाल बहुभाषिक तथा बहुसांस्कृतिक मुलुक भएकाले विभिन्न भाषाको संरक्षण, विकास र प्रयोगलाई प्रभावकारी बनाउन नीतिगत बहस तथा योजनाबद्ध पहल आवश्यक रहेको कार्यपत्र प्रस्तुत कर्ता डा.भीमलाल गौतमले बताउनु भयो ।
गोष्ठीले नेपालमा भाषा व्यवस्थापन तथा भाषिक नीतिसम्बन्धी विषयमा विमर्श गर्न र यस क्षेत्रमा आगामी योजनाबारे छलफल गर्न सहयोग पुर्याएको उहाँको भनाई छ ।



