बूढीगण्डकीको बाढीले चुमनुब्रीका पैयू र बगर गाउँका ३५ घर बगायो
काठमाण्डौ । गोरखाको चुमनुब्री गाउँपालिका भएर बग्ने बूढीगण्डकी नदीमा आज बिहानको बाढीले पैयू र बगर गाउँका ३५ घर बगाएको छ ।
दोभान, घट्टेखोला, जगत् र सल्लेरी गाउँमा ठूलो क्षति भएको चुमनुब्री गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङले बताउनुभएको छ । चुमनुब्री गाउँपालिका–३ का बजारमा बाढीबाट धेरै क्षति भएको छ ।
आज बिहान ४ बजेतिर बाढी आएपछि स्थानीय बासिन्दा सुरक्षित ठाउँतर्फ भागेका थिए । बाढीको जोखिम कायमै रहेको र सिर्दिबास तथा धार्चे गाउँपालिकाका खोर्लाबेँसी, माछाखोला, सोती, आर्खेत र आरुघाटका बासिन्दालाई सुरक्षित ठाउँमा जान आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक आकाश कँडेलले जानकारी दिनुभयो ।
अहिलेसम्म बाढीबाट मानवीय क्षति भएको विवरण प्राप्त नभएको थप विवरण प्राप्त हुन बाँकी रहेको उहाँले बताउनुभयो ।

