वित्तीय साक्षरता अभिवृद्धिका लागि ‘रिङ द बेल’ कार्यक्रम सम्पन्न

काठमाडौं । विश्व लगानीकर्ता सप्ताह २०२६ को अवसरमा वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको वित्तीय साक्षरता अभिवृद्धिका लागि ‘रिङ द बेल’  कार्यक्रम आज बिहान मदन भण्डारी मेमोरियल कलेजमा सम्पन्न भएको छ।

म्याग्नेट सेक्युरिटिज एन्ड इन्भेस्टमेन्ट कम्पनी प्रालिको आयोजना तथा मदन भण्डारी मेमोरियल कलेजको सहकार्यमा कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा बेनी सेक्युरिटिज प्रालिको समेत सहभागिता रहेको थियो।

कार्यक्रममा वित्तीय साक्षरता, लगानीसम्बन्धी आधारभूत ज्ञान तथा सुरक्षित लगानीका विषयमा जानकारी प्रदान गरिएको थियो। विशेषगरी लगानीकर्ताको जोखिम सामना गर्ने क्षमता, डिजिटल माध्यमबाट हुने ठगी तथा भ्रम, वित्तीय ठगीबाट सचेत रहने उपाय, लगानीका आधारभूत पक्ष तथा युवा पुस्तालाई लगानीतर्फ आकर्षित गर्ने विषयलाई प्राथमिकताका साथ उठाइएको थियो।

कार्यक्रममा  म्याग्नेट सेक्यूरिटिजका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. वीरेन्द्रकुमार शाहले वित्तीय साक्षरताको आवश्यकता, लगानी गर्दा अपनाउनुपर्ने सावधानी तथा युवापुस्ताले लगानीका अवसरलाई कसरी बुझ्ने भन्ने विषयमा जानकारी दिनुभएको थियो ।

उहाँले विद्यार्थीहरूको वित्तीय ज्ञानमा बृद्धि गर्नुका साथै भविष्यमा सही ठाउँमा लगानी गर्न प्रेरित गर्ने महत्त्वपूर्ण प्रशिक्षण तथा मार्गदर्शन प्रदान गर्नुभएको थियो।

विश्व लगानीकर्ता सप्ताह २०२६ अन्तर्गत “सुदृढ लगानीकर्ता, समृद्ध भविष्य”’ भन्ने मूल भावनासहित सञ्चालन गरिएको कार्यक्रमले विद्यार्थी तथा युवा पुस्तामा वित्तीय ज्ञान र लगानीसम्बन्धी सचेतना बढाउन सहयोग पुगेको क्याम्पस प्रमुख डा. बाबुराम अधिकारीले बताउनु भयो ।

कार्यक्रममा वित्तीय साक्षरतालाई व्यवहारिक जीवनसँग जोड्दै ‘लर्न, इन्भेस्ट, ग्रो’ को अवधारणालाई समेत अघि बढाइएको थियो।