आज लुम्बिनी, सुदूरपश्चिम, बागमती, गण्डकी र कर्णाली प्रदेशमा वर्षाको सम्भावना
काठमाण्डौ । गएराति बागमती, गण्डकी र कोशी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ ।
पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै कास्कीको मालेपाटनमा ३४ मिलिमिटर वर्षा मापन भएको मौमस पूर्वानुमान महाशाखाले जनाएको छ । यसैगरी, काठमाण्डौको थानकोट र ताप्लेजुङको दोभानमा पनि मध्यम वर्षा भएको छ ।
हिजो दिउँसो पनि काठमाण्डौमा ठूलो पानी परेको थियो । आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भाग तथा बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भागका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ ।
अहिले बिहान तराईमा हुस्सु र कुहिरो लागेको छ । लुम्बिनी र सुदूरपश्चिम ,मधेश, कोशी, बागमती, गण्डकी प्रदेशको तराई भू–भागको थोरै ठाउँमा पनि मेघगर्जन/चट्याङ्ग ,हावाहुरी र असिना सहित मध्यमवर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
भोलिदेखि पानी पर्नेक्रम घट्दै जाने मौसमविद्को अनुमान छ ।

