सामाजिक उत्तरदायित्वमा थप सशक्त बन्दै मदन भण्डारी मेमोरियल कलेज
सुनील पौडेल, काठमाडौं । सामाजिक उत्तरदायित्वअन्तर्गत रक्तदान अभियानमा सक्रिय सहभागिता जनाएको भन्दै शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा मदन भण्डारी मेमोरियल कलेज सम्मानित भएको छ । कलेजकै स्नातक तहकी १८ वर्षीया छात्रा लक्ष्मी कार्की पनि सम्मानित भएकी छन् । रक्तदानमा सहभागी महिला रक्तदातामध्ये सबैभन्दा कम उमेरमा रक्तदान गरेर उनी सम्मानित भएकी हुन् ।
ब्लड डोनर्स एसोसिएसन नेपाल (ब्लोदान), काठमाडौं जिल्ला शाखाको १७औँ स्थापना दिवस तथा १०औँ वार्षिक साधारण सभाका अवसरमा आयोजित एक समारोहमा कलेज र लक्ष्मीलाई प्रशंसा–पत्र प्रदान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका भौतिक तथा पूर्वाधार विकासमन्त्री भरतबहादुर के.सी.ले उक्त कदर तथा प्रशंसा पत्र प्रदान गरेका हुन् ।
प्रशंसा–पत्रमा कम उमेरमै जीवन बचाउने मानवीय कार्यमा सहभागी भएकोमा कार्कीलाई धन्यवाद तथा बधाई दिँदै उनको स्वस्थ र दीर्घायु जीवनको कामना गरिएको छ । यस सम्मानले युवावस्थामै रक्तदान तथा सामाजिक सेवामा सहभागी हुन विद्यार्थीलाई प्रेरित गर्ने अपेक्षा गरिएको छ ।
त्यसैगरी, हरेक वर्ष आफ्नो वार्षिकोत्सवका अवसरमा सफलतापूर्वक रक्तदान कार्यक्रम आयोजना गरि जीवन बचाउने महान अभियानमा निरन्तर सहभागी रहेको भन्दै मदन भण्डारी मेमोरियल कलेजलाई कदर–पत्र प्रदान गरिएको ब्लोदानले बताएको छ । आगामी दिनमा पनि स्वयंसेवी रक्तदान अभियानलाई निरन्तरता दिन कलेजको सहयोगको अपेक्षा गरिएको कदर–पत्रमा उल्लेख छ ।
बाढीपीडितलाई तीन लाखभन्दा बढी सहयोग
कलेजले रक्तदान अभियानसँगै हालैको बाढी तथा विपद्का समयमा पनि सामाजिक सहयोगलाई निरन्तरता दिइरहेको छ । कलेजले बाढीपीडितको राहतका लागि कलेजका शिक्षक, कर्मचारी तथा विद्यार्थीहरुबाट संकलित तीन लाख रुपैयाँभन्दा बढी रकम सहयोग गरेको छ । त्यस्तै, बाढीबाट प्रभावित विदुर नगरपालिका-१ स्थित त्रिशूली बहुमुखी क्याम्पसलाई पनि कलेजले थप २५ हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ ।
कलेज स्काउटका दर्जनौं विद्यार्थीहरु बाढी प्रभावितको खोज, उद्धार र राहत वितरणका लागि धेरै दिनदेखि प्रभावित क्षेत्रमै सक्रिय छन् । रक्तदान, विपद् राहत र शैक्षिक संस्थालाई सहयोगमार्फत आफ्नो शैक्षिक भूमिकासँगै सामाजिक उत्तरदायित्वलाई पनि कलेजले सधैं प्राथमिकतामा राख्ने गरेको क्याम्पस प्रमुख डा. बाबुराम अधिकारीले जानकारी दिनुभयो । “ उत्कृष्ट शैक्षिक गतिविधि संगै अन्य सामाजिक अभियानको निरन्तरतामा मदन भण्डारी मेमोरियल कलेज सदा क्रियाशील रहने छ”, उहाँले प्रतिवद्दता व्यक्त गर्नुभयो ।

