इरानसँगको युद्ध अमेरिकी मध्यावधि चुनावपछि अन्त्य हुने ट्रम्पको दाबी

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध अवको दुई महिनापछि नोभेम्बर ३ मा हुने अमेरिकी मध्यावधि चुनावलगत्तै अन्त्य हुने दाबी गर्नुभएको छ ।

उहाँले इरानले अमेरिकी चुनावलाई प्रभावित पार्न युद्ध लम्ब्याउन खोजिरहेको आरोप लगाउँदै, अमेरिकी आर्थिक तथा सैन्य दबाबका कारण तेहरान धेरै समय टिक्न नसक्ने दाबी गर्नुभएको रोयटर्सले जनाएको छ ।

ट्रम्पले हिजो पत्रकारहरूसँग कुरा गर्दै युद्ध चुनावपछि तत्काल अन्त्य हुने बताउनुभएको हो । इरानले अमेरिकी चुनावमा आफूअनुकूल परिणाम निकाल्ने प्रयास गरिरहेको छ । इरानले युद्ध लम्ब्याएर अमेरिकी मतदातामा असन्तुष्टि बढाउने र त्यसबाट रिपब्लिकन पार्टी कमजोर बनाउने प्रयास गरिरहेको ट्रम्पको आरोप छ ।

तर ट्रम्पले इरानसँग पुनः वार्ता हुने सम्भावना भने पूर्ण रूपमा अस्वीकार गर्नुभएको छैन । उहाँले वार्ता सम्भव भए पनि अहिले अमेरिकी प्रशासन त्यसका लागि सक्रिय रूपमा अघि नबढेको बताउनुभएको छ । यसअघि इरानको आणविक कार्यक्रमलाई लिएर भएका वार्ताहरू निष्कर्षमा पुग्न नसकेपछि दुई देशबीचको तनाव थप चर्किएको छ ।

ट्रम्पले आफूले इरानसँग केवल आणविक सम्झौता मात्र गर्न नखोजेको बताउनुभएको छ । उहाँका अनुसार भविष्यमा हुने कुनै पनि सम्झौतामा आणविक कार्यक्रमबाहेक अन्य विषयसमेत समेटिनेछन् । अमेरिकी पक्षले इरानलाई आणविक हतियार विकास गर्नबाट रोक्नु आफ्नो प्रमुख उद्देश्य भएको बताउँदै आएको छ ।

इरानले भने आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण प्रयोजनका लागि भएको दाबी गर्दै आणविक हतियार बनाउने उद्देश्य अस्वीकार गर्दै आएको छ । ट्रम्पको पछिल्लो भनाइ अमेरिका र इरानबीचको सैन्य तनाव फेरि तीव्र बनेको बेला आएको छ  । युद्धका कारण तेलको ढुवानी प्रभावित हुँदा विश्वभर इन्धन तथा उपभोग्य वस्तुको मूल्यमा थप दबाब पर्न सक्ने चिन्ता बढेको छ ।