भोटेकोशी बाढी : मृतक संख्या एक हजार १२७ पुग्यो, चार हजार ८५८ सम्पर्कविहीन
काठमाण्डौ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीमा मृतक संख्या एक हजार १२७ पुगेको छ।
नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार हालसम्म फेला परेका शव तथा आंशिक अंगमध्ये ३१ बालक, ४५ बालिका, २२७ महिला, ३९७ पुरुष र ४२७ आंशिक अंग रहेका छन्। फेला परेका शवको पहिचान तथा आवश्यक कानुनी प्रक्रिया पूरा गर्ने काम भइरहेको प्रहरीले जनाएको छ। यसैगरी, पहिचान नभएका ९११ जनाको विवरण वेबसाइटमा अपलोड गरिएको छ। हालसम्म ५५ वटा शव हस्तान्तरण गरिएको छ भने लास जाँच मुचुल्काको संख्या एक हजार ११३ पुगेको प्रहरीले जनाएको छ।
बाढीपछि सम्पर्क तथा प्रभावित व्यक्तिको विवरण संकलन गर्ने काम पनि भइरहेको छ। प्रहरीका अनुसार स्वदेशीतर्फ २ हजार ४४५ पुरुष र ४८० महिलासहित २ हजार ९२५ जनाको विवरण संकलन भएको छ। त्यस्तै, फोनमार्फत एक हजार ३५० जनासँग सम्पर्क भएको प्रहरीले जनाएको छ। विदेशी नागरिकतर्फ २५१ पुरुष, ३३० महिला र २ अन्य गरी ५८३ जनाको विवरण रहेको छ। यी विवरणअनुसार कुल संख्या चार हजार ८५८ पुगेको छ।
घाइते तथा उद्धार गरिएका व्यक्तिको कुल संख्या ६ हजार ५४१ रहेको प्रहरीले जनाएको छ। यसमध्ये ४ हजार ८६ पुरुष, १ हजार ९२२ महिला र ५३३ जनाको विवरण नखुलेको छ। उद्धार गरिएकामध्ये ५८० जना विदेशी रहेको विवरणमा उल्लेख छ। बाढी प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी रहेकाले मृतक, सम्पर्कविहीन तथा प्रभावितको विवरण थप अद्यावधिक हुन सक्ने प्रहरीले जनाएको छ।

