गुल्मीका सात जना कर्मचारी रसुवामा सम्पर्कविहीन
काठमाण्डौ । रसुवाको बाढीमा गुल्मीका सात जना सम्पर्कविहीन भएका छन् । गुल्मी सत्यवती गाउँपालिका ६, जुहाङ घर भइ बर्दघाट नवलपरासी बस्ने यादव भण्डारीसहित सात जना सम्पर्कमा छैनन् । भण्डारी अध्यागमन कार्यालय, रसुवागढीका अधिकृत हुनुहुन्थ्यो ।
प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेका अनुसार रसुवा भन्सारमा कार्यरत कर्मचारी मालिका गाउँपालिका ७, घमिरका दिनेश घिमिरे, हाइड्रोपावरमा कार्यरत छत्रकोट गाउँपालिका ४, दिगामका गणेश ज्ञवाली र हाइड्रोपावरका सुरक्षागार्ड सत्यवती गाउँपालिका ८ का झन बहादुर गलामी पनि हालसम्म सम्पर्कमा आउनुभएको छैन ।
उहाँले एकिन विवरण प्राप्त नभएसम्म सन्जालमा आएका सूचनामा विश्वास नगरेर सरकारको आधिकारिकता पर्खन अनुरोध गर्नुभयो । त्यस्तै रसुवाको हाइड्रोपावरमा कार्यरत रुरुक्षेत्र गाउँपालिका( ६, रिमुवाका इन्जिनियर यम बहादुर दर्लामी, रसुवा भन्सारमा कर्मचारी रुरुक्षेत्र गाउँपालिका ५ का अनिता पुरी र रुरु क्षेत्र ३ का इन्जिनियर कपिलदेव गौतम सम्पर्कमा नरहेको रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले जानकारी दिनुभयो ।

