बाढी अपडेट : १५७ जनाको शव फेला, झण्डै एकहजार जना बेपत्ता

काठमाण्डौ ।  रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण अहिलेसम्म १५७ जनाको ज्यान गएको छ ।

प्रहरीले दिएको पछिल्लो जानकारी अनुसार रसुवामा ३, नुवाकोटमा १३, धादिङमा २७, चितवनमा ६४, गोरखामा १९, तनहुँमा ९ र नवलपरासी पूर्वमा २२ जनाको शव फेला परेको हो ।

बाढीका कारण विभिन्न अस्पतालमा ४१ जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार २० जनाको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा, ४ जनाको ट्रमा सेन्टरमा, ३ जनाको वीर अस्पतालमा, १ जनाको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा, ३ जनाको नर्भिक अस्पतालमा र ९ जनाको त्रिशूली अस्पतालमा उपचार भैरहेको छ ।

बाढीका कारण झण्डै एकहजार जना बेपत्ता भएको अनुमान छ । बेपत्ताहरुको खोजी र उद्धारको काम भैरहेको छ । त्रिशूली नदीमा आएको बाढीले रसुवा र नुवाकोटमा जनधनको ठूलो क्षति पुगेको छ ।

हिजो बिहान चीनतर्फबाट एक्कासी आएको भीषण बाढी रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा मिसिंदा नदी तटीय क्षेत्रमा ठूलो क्षति गरेको हो ।