एमबीएमसी ह्याकफेस्ट २०२६ को अभिमुखीकरण कार्यक्रम सम्पन्न
काठमाडौं । मदन भण्डारी मेमोरियल कलेजमा शनिबार एमबीएमसी ह्याकफेस्ट २०२६ को अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
प्रविधि, सिर्जनशीलता, नवप्रवर्तन र सहकार्यलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको ह्याकफेस्ट कलेजका विद्यार्थीलाई आफ्ना विचारलाई व्यावहारिक समाधानमा रूपान्तरण गर्न प्रेरित गर्ने कार्यक्रमका रूपमा अघि बढाइएको हो।
कार्यक्रममा कार्यवाहक क्याम्पस प्रमुख प्रज्वलमान श्रेष्ठले ह्याकफेस्ट विद्यार्थीको सीप, व्यक्तित्व विकास र कक्षाकोठाभन्दा बाहिरको सिकाइलाई प्रोत्साहन गर्ने महत्वपूर्ण माध्यम भएको बताउनुभयो। उहाँले विद्यार्थीलाई केवल कक्षाकोठाको सिकाइमा सीमित नराखी समस्या पहिचान गर्ने, नयाँ विचार विकास गर्ने र समाज तथा राष्ट्रका लागि योगदान गर्न सक्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभयो।
श्रेष्ठले कलेजले ह्याकाथन संस्कृतिको विकासलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै विगतमा कलेजका विद्यार्थीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका ह्याकाथनमा सफलता हासिल गरेको बताउनुभयो। सहभागीका रूपमा दर्ता भएका विद्यार्थीहरू कार्यक्रममै सहभागी हुने निर्णयमार्फत आफ्नो क्षमता विकासको यात्रामा अघि बढिसकेको उहाँको भनाइ थियो।
यस वर्षको ह्याकफेस्टमा विगतको तुलनामा सहभागिताको दायरा फराकिलो बनाइएको छ। यसअघि मुख्यतः सूचना प्रविधिसम्बन्धी विद्यार्थीको सहभागिता रहने गरेकोमा यसपटक व्यवस्थापन, मानविकी लगायत विभिन्न संकायका विद्यार्थीलाई समेत सहभागी हुने अवसर प्रदान गरिएको छ। विभिन्न क्षेत्रको ज्ञानलाई एकीकृत गरेर मात्रै कुनै विचारलाई वास्तविक जीवनमा उपयोगी समाधानका रूपमा विकास गर्न सकिने कार्यक्रम संयोजक नबराज जोसीले बताउनु भयो ।
अभिमुखीकरण कार्यक्रममा आइडियाएक्स २०२५ का सह-प्रमुख मिराज भट्टराईले ह्याकाथन तथा ह्याकफेस्टको अवधारणा, समस्या पहिचानदेखि समाधान निर्माण र प्रस्तुतीकरणसम्मका विभिन्न चरणबारे जानकारी दिनुभयो। उहाँका अनुसार ह्याकफेस्टमा सहभागीले निश्चित समयभित्र कुनै समस्याको समाधान पहिचान गरी त्यसलाई निर्माण, परीक्षण र प्रस्तुतीकरण गर्नुपर्छ।
भट्टराईले ह्याकफेस्टका लागि सबैभन्दा पहिले वास्तविक समस्या पहिचान गर्नुपर्नेमा जोड दिनुभयो। त्यसपछि टोली निर्माण, समाधान तथा विचार विकास, अनुसन्धान, प्रोटोटाइप निर्माण, परीक्षण र अन्तिम प्रस्तुतीकरणजस्ता चरणमा काम गर्नुपर्ने उहाँले बताउनुभयो। ह्याकाथनमा पूर्ण उत्पादन निर्माण गर्नुभन्दा पनि पहिचान गरिएको समस्यालाई सम्बोधन गर्ने आधारभूत प्रोटोटाइप वा कार्यशील समाधान प्रस्तुत गर्नु महत्वपूर्ण हुने उहाँको भनाइ थियो।
उहाँले ह्याकाथनमा प्राविधिक पक्षसँगै लक्षित प्रयोगकर्ता, बजारको आवश्यकता र व्यावसायिक सम्भावनालाई समेत ध्यान दिनुपर्ने बताउनुभयो। राम्रो प्रविधि वा आकर्षक नमुना मात्रै पर्याप्त नहुने भन्दै समाधानले कसको समस्या समाधान गर्छ, त्यसबाट कसरी मूल्य सिर्जना हुन्छ र बजारमा त्यसको आवश्यकता छ कि छैन भन्ने विषयमा सहभागीले स्पष्ट हुनुपर्नेमा उहाँले जोड दिनुभयो।
टोलीमा काम गर्दा आपसी समन्वय र संवादलाई पनि उत्तिकै महत्वपूर्ण मान्नुपर्ने उहाँको भनाइ थियो। टोलीका सदस्यबीच गलतफहमी वा कामको असमान बाँडफाँट भए तत्काल छलफल गरेर समाधान खोज्नुपर्ने तथा सहकार्यको वातावरण कायम राख्न एकअर्काप्रति सकारात्मक व्यवहार गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।
एमबीएमसी ह्याकफेस्ट २०२६ लाई कलेजको आन्तरिक ह्याकाथनका रूपमा सञ्चालन गरिने र यसले विद्यार्थीलाई आगामी आइडियाएक्स २०२६ लगायतका ह्याकाथनमा सहभागी हुन आवश्यक सीप र अनुभव विकास गर्ने अवसर प्रदान गर्ने कार्यक्रममा जानकारी दिइयो। अभिमुखीकरणमार्फत विद्यार्थीलाई ह्याकफेस्टको प्रक्रिया, तयारी, टोली निर्माण, समस्या पहिचान, प्रोटोटाइप विकास र प्रस्तुतीकरणका विषयमा आधारभूत जानकारी दिइएको छ।

