आज दिउँसो मधेशबाहेकका प्रदेशमा मध्यमसम्मको वर्षाको सम्भावना
काठमाण्डौ । काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा गएराति पानी परेको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार बागमती र गण्डकी प्रदेशका थोरै ठाउँ तथा कोशी, लुम्बिनी र कर्णाली प्रदेशका एक/दुई ठाउँमा मध्यमसम्मको वर्षा भएको हो ।
लमजुङको भुजुङसहित आसपासका क्षेत्रमा अहिले पनि पानी परिरहेको छ । पछिल्लो ६ घण्टामा भुजुङमा सबैभन्दा धेरै ८०.४ मिलिमिटर वर्षा मापन भएको छ । त्यस्तै खुदीबजारमा पनि ३३ मिलिमिटर वर्षा भएको छ ।
कास्कीको याञ्जाकोटमा झण्डै ४१ मिलिमिटर पानी परेको छ । गोरखाको बारपाकसहित अरु थोरै ठाउँमा पनि मध्यमसम्मको वर्षा भएको छ ।
आज दिउँसो मधेशबाहेकका प्रदेशमा मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी र बागमतीको पहाडी भागका धेरै ठाउँमा तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भागका केही ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
तराई भागका थोरै ठाउँमा पनि मध्यमसम्मको वर्षाको सम्भावना छ । त्यस्तै कोशी र बागमती प्रदेशको हिमाली र पहाडी भागका एक/दुई ठाउँमा भने मुसलधारे पानी पर्ने अनुमान छ ।

