सिरियामा २ वटा बस एक-आपसमा ठोक्किंदा ३५ जनाको मृत्यु, ३० घाइते
काठमाण्डौ । सिरियामा २ वटा बस एक-आपसमा ठोक्किँदा करिब ३५ जनाको मृत्यु भएको छ। साेही दुर्घटनामा परी अन्य ३० जना घाइते भएका हुन् ।
शनिबार भएको बस दुर्घटना पूर्वी सिरियालाई राजधानी दमास्कससँग जोड्ने करिब ४ सय किलोमिटर लामो देर एज जोउर–दमास्कस राजमार्ग अन्तर्गत अल–सुखनाह र पाल्मिरा बीचको सडक खण्डमा भएको अलजजिराले जनाएको छ।
सिरियाको गृह मन्त्रालयले एउटा बसमा आन्तरिक सुरक्षा बलका सदस्यहरू सवार रहेकाे र अर्को बसमा सर्वसाधारण यात्रुहरू यात्रा गरिरहेकाे जनाएकाे हाे।
मन्त्रालयले दुर्घटनापछि उद्धारका लागि तत्काल एम्बुलेन्सहरू घटनास्थलमा पठाइएको बताएको छ। घाइतेहरूलाई उपचारका लागि होम्स सैन्य अस्पताल पुर्याउन घटनास्थलमा धेरै वटा हेलिकोप्टर समेत परिचालन गरिएको सरकारी समाचार संस्था सिरियन अरब न्युज एजेन्सीले जनाएको हाे।
दुर्घटना भएको देर एज जोउर–दमास्कस राजमार्ग कमजोर सुरक्षा मापदण्डका कारण जोखिमपूर्ण सडकका रूपमा परिचित छ ।

