भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा
भारतमा कक्रोच जनता पार्टी (सीजेपी)को अगुवाइमा चलिरहेको आन्दोलनबीच शिक्षामन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा दिनुभएको छ । योग्यता तथा प्रवेश परीक्षा (नीट) का प्रश्न पत्र बाहिरिएको विषयलाई लिएर सीजेपीले बितेको एक महिनादेखि उहाँको राजीनामा मागेर प्रदर्शन गर्दै आएको छ ।
धर्मेन्द्र प्रधानले सामाजिक सञ्जाल एक्समा लेख्दै राजीनामाबारे जानकारी दिनुभएको हो । प्रधानले लेख्नुभएको छ, ‘जन्तरमन्त्ररमा र देशमा जुन परिस्थिति सिर्जना भएको छ त्यसको फाइदा देश विरोधी शक्तिहरूले नउठाउन् । देशको एकता कायम रहोस्, भारतका एउटा पनि विद्यार्थीको भविष्य कानुनी उल्झनमा नपरोस्, हाम्रा बच्चाहरूले आफ्नो समय अध्ययनमा लगाउन् करिअरमा ध्यान दिउन् । यिनै कुरामा विचार गर्दै मैले आफ्नो राजीनामा पत्र सम्माननीय प्रधानमन्त्रीलाई पठाएको छु ।’
यसैबीच, कक्रोच जनता पार्टी (सीजेपी) र केन्द्र सरकारबीच दोस्रो चरणको वार्ता सम्पन्न भएको छ । प्रदर्शनकारीहरूका केही प्रमुख मागहरूप्रति केन्द्र सरकारले लिखित प्रतिबद्धता जनाएको बीबीसी हिन्दीले जनाएको छ । केन्द्रीय मन्त्री जेपी नड्डाले सरकारभित्र आन्दोलनरत पक्षका मागहरूको बारेमा आन्तरिक छलफल भएपछि सीजेपीसँग तेस्रो चरणको वार्ता हुने जानकारी दिनुभएको छ ।
यसैबीच शिक्षा मन्त्रीको राजीनामा पछि सीजेपीका संस्थापक अभिजित दीप्केले आफूहरूले गरेर देखाएको भन्दै लोकतन्त्रमा डराउनु नपर्ने बताउनुभएको छ । यसअघि कांग्रेससहितका सबै विपक्षी दलहरू प्रधानको राजीनामाको पक्षमा उभिएका थिए ।
यस्तै भारतका १०० जना अग्रणी लेखक, कलाकार र बुद्धिजीवीहरूले सार्वजनिक परीक्षामा पारदर्शिता, जवाफदेहिता र व्यापक सुधारको माग गर्ने विद्यार्थीहरूको समर्थनमा संयुक्त विज्ञप्ति जारी गरेका थिए । विज्ञप्तिमा प्रश्न पत्र चुहावट र परीक्षा प्रक्रियामा भइरहेको निरन्तरको अनियमितताले सार्वजनिक संस्थाहरूको विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाएको उल्लेख थियो ।
केही हप्ताको विरोधपछि गएको सोमवार दशौँ हजार युवायुवतीले भारतको संसद्तर्फ मार्च गर्ने प्रयास गरेका थिए । उनीहरूलाई रोक्न प्रहरीले अश्रुग्यास र लाठीचार्ज गरेको थियो । त्यसयता अझ हजारौँ मानिस सडक आन्दोलनमा सहभागी हुँदै आएका छन् ।
खास गरी युवा नेतृत्वको यो अभियानमा ठूलो सङ्ख्यामा देशका विद्यार्थीहरू सहभागी भएका छन् । यो भारतमा केही वर्षयताकै सबैभन्दा ठूलो विद्यार्थी आन्दोलन बन्न पुगेको छ ।

