रोजगारी र सीप विकासमा निजी क्षेत्रसँग सहकार्य गर्न प्रतिवद्ध छौँः श्रममन्त्री
काठमाण्डौ । युवा, श्रम तथा रोजगार मन्त्रालयले आन्तरिक रोजगारको वातावरण सिर्जना गर्न निजी क्षेत्रका सरोकार भएका निकायका प्रतिनिधिसँग छलफल गरेको छ ।
मन्त्रालयमा आज आयोजित कार्यक्रममा यसका लागि आगामी आर्थिक वर्षमा सञ्चालन हुने कार्यस्थलमा आधारित तालिम र प्रशिक्षार्थी कार्यक्रमलाई प्रभावकारी बनाउने विषयमा जोड दिइएको हो ।
युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवको अध्यक्षतामा बसेको बैठकमा सरकारले आगामी दशकलाई ‘आन्तरिक रोजगार प्रवर्द्धन दशक’ घोषणा गरेको सन्दर्भमा मन्त्रालयले सोहीअनुरूप श्रम व्यवस्थापनका सम्बन्धमा नयाँ नीति र सोचसहित कार्य गरिराखेको जनाइएको छ ।
मन्त्रालयले आगामी आवमा १२ वटा भन्दाबढी प्रमुख आन्तरिक रोजगारी कार्यक्रम सञ्चालन गर्न कार्यस्थलमा आधारित प्रशिक्षार्थी तालिम दिने योजना अघि सारेको छ । हाल सञ्चालित ‘श्रम संसार’ अनलाइन पोर्टललाई व्यवस्थित गरिने जानकारी दिइएको छ ।
छलफलमा सहभागी निजी क्षेत्रका प्रतिनिधिहरूले सरकारले निजी क्षेत्रलाई केबल ‘साक्षी’का रूपमा हेरिएको बताएका छन् । सोविषयलाई सम्बोधन गर्दै मन्त्री यादवले निजी क्षेत्रलाई केबल ‘साक्षी’का रूपमा मात्रै नभएर ‘साझेदार’का रूपमा लिने र आपसी सहकार्य र समन्वयबाट अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।
नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ र नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिहरूले तालिम मागमा आधारित हुनुपर्ने र पाठ्यक्रम निर्धारणदेखि प्रमाणीकरणसम्म निजी क्षेत्रको सहभागिता हुनुपर्नेमा जोड दिएका छन् ।
बजारको आवश्यकता र उपलब्ध जनशक्तिबीच तालमेल मिलाउन कार्य विशिष्ट तालिममा जोड, प्रशिक्षार्थी राख्ने साना उद्योगलाई विद्युत् जडानमा सहजता, कर कट्टा र घर भाडामा छुट, रोजगारीमा लैङ्गिक सन्तुलन कायम गर्ने रोजगारदातालाई पुरस्कृत गर्नुपर्ने, महिला उद्यमीका लागि अनुमतिपत्र लिने प्रक्रिया सहज बनाउनुपर्नेलगायत विषयमा छलफल भएको छ ।
नेपालमा श्रम गरिरहेका युवाको ठूलो हिस्साले विदेशिने आकाङ्क्षा बोकेकाले त्यसलाई सम्बोधन हुनेगरी युवालाई देशमा आकर्षित रोजगारी सिर्जना गरी सहज व्यवस्थापन गर्नेबारे छलफल गरिएको थियो ।
विभिन्न क्षेत्रका प्रतिनिधिहरूले तालिमपश्चात् रोजगारी सुनिश्चित गर्न र श्रम बजारको रोजगारी पारिस्थितिकी प्रणाली चक्र पूर्ण रूपमा पूरा गर्न सरकार र निजी क्षेत्र एउटै मञ्चमा आउनुपर्ने निष्कर्ष निकालेका छन् । रासस

