इजरायल केयरगिभरमा ११ सय १५ छनोट, थप १९ सय ८५ लैजाने

काठमाण्डौ । इजरायलले नेपालबाट दीर्घकालीन स्याहार केन्द्र (केयरगिभर) मा काम गर्न १ हजार १ सय १५ नेपाली श्रमिक छनोट गरेको छ।

इजरायली सरकारको छनोटमा परेकाहरूको वरियता सूची वैदेशिक रोजगार विभागलाई पठाइएको छ, जसका आधारमा अब श्रमिक पठाउने प्रक्रिया अघि बढाइनेछ।

केयरगिभरका लागि २ हजार ३ सय जनाको माग भए पनि अंग्रेजी भाषा परीक्षामा १ हजार २ सय ३१ जना मात्रै पास भएका थिए । तीमध्ये लक्की ड्र मार्फत उक्त संख्यामा छनोट भएका हुन् । जसमा ७५ प्रतिशत पुरुष र २५ प्रतिशत महिला रहेका छन् ।

इजरायलको जनसंख्या तथा अध्यागमन प्राधिकरण (पिबा) ले लक्की ड्रमार्फत वरीयता सूची तयार गरेको हो । वैदेशिक रोजगार विभागले अंग्रेजी भाषा परीक्षा उत्तीर्ण गरेका १ हजार २ सय ३१ जनाको कागजात परीक्षण गरी १ हजार १ सय ४० जनाको नाम पिबामा पठाएको थियो । तीमध्ये मापदण्ड पूरा गरेका १ हजार १ सय १५ जनालाई अन्तिम रूपमा छनोट गरिएको हो ।

पिबाले नेपालका लागि थप ८ सय जनाको नयाँ कोटा पनि स्वीकृत गरेको छ । यसअघि अपुग रहेको १ हजार १ सय ८५ जनाको कोटा र नयाँ ८ सय जनाको कोटा जोडेर अब १ हजार ९ सय ८५ जनाका लागि पुनः भाषा परीक्षा सञ्चालन गरिने भएको छ ।

पिबाकी निर्देशक शिर्ले राइसिन स्यासनले नेपालका लागि छुट्याइएको कोटाअन्तर्गत छनोट प्रक्रिया चाँडै सुरु हुने बताउनुभयो । उहाँले नेपालसँगको श्रम सम्झौताअन्तर्गत पारदर्शी रूपमा श्रमिक भर्ना प्रक्रिया अघि बढाइएको र नेपाली श्रमिकलाई इजरायल लैजान आफूहरू उत्साहित रहेको उल्लेख गर्नुभयो ।

नेपालका लागि इजरायली राजदूत स्मुलिक एरी बासले पनि नेपाल–इजरायल श्रम सम्झौता प्रभावकारी रूपमा कार्यान्वयन भइरहेको बताउँदै कृषि र आवासीय क्षेत्रमा समेत नेपाली श्रमिक लैजान दुईवटा प्रोटोकलमा काम भइरहेको जानकारी दिनुभयो ।