युक्रेनमा सरकार पुनर्गठनको तयारी, प्रधानमन्त्रीदेखि सुरक्षा निकायसम्म फेरबदल हुने

एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले देशको प्रशासनिक क्षमता थप प्रभावकारी बनाउने उद्देश्यसहित सरकारको व्यापक पुनर्गठन गर्ने घोषणा गर्नुभएको छ ।

यसअन्तर्गत प्रधानमन्त्री युलिया स्विरिडेन्कोलाई पदबाट हटाउने तथा केही प्रमुख कानून प्रवर्तन निकायका प्रमुखहरूलाई पनि परिवर्तन गर्ने प्रस्ताव अघि सारिएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

राष्ट्रपति जेलेन्स्कीले प्रधानमन्त्री स्विरिडेन्कोको ठाउँमा कसलाई नियुक्त गर्ने भन्नेबारे भने अहिलेसम्म सार्वजनिक गर्नुभएको छैन । उहाँले गएको वर्ष मात्रै स्विरिडेन्कोलाई प्रधानमन्त्रीको जिम्मेवारी दिनुभएको थियो ।

यद्यपि, सरकार पुनर्गठनको निर्णयले युद्धकालीन परिस्थितिमा प्रशासनलाई अझ प्रभावकारी र परिणाममुखी बनाउने उद्देश्य राखिएको विश्लेषण गरिएको छ ।

युक्रेनको युरोपेली सङ्घ (ईयू) मा सदस्यता प्राप्त गर्ने प्रक्रियालाई तीव्र बनाउने, सीमावर्ती क्षेत्रको सुरक्षा र पूर्वाधारलाई थप मजबुत बनाउने तथा युद्धका कारण उत्पन्न चुनौतीहरूको प्रभावकारी व्यवस्थापन गर्ने विषयलाई प्राथमिकतामा राखिएको जेलेन्स्कीले बताउनु भएको छ ।

त्यसैगरी, विदेश नीतिका विभिन्न क्षेत्रलाई अझ प्रभावकारी रूपमा सञ्चालन गर्न फरक/फरक व्यक्तिहरूलाई जिम्मेवारी बाँडफाँट गर्ने योजना पनि रहेको उहाँले बताउनुभएको छ ।