आज २१३औँ भानुजयन्ती मनाइँदै

आज आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती देश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ ।

भानुभक्तले संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर ठूलो योगदान गर्नुभएको छ ।

२९ असार १८७१ मा तनहुँको चुँदीरम्घामा जन्मिनुभएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ती दिएकाले रामायणलाई नेपालीमा रचना गर्न प्रेरित भएका थिए ।

त्यसैगरी, ‘वधुशिक्षा’ उहाँको अर्को प्रसिद्ध कृति हो । उहाँका ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’, फुटकर रचनालगायतका कृति छन् । नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनमा भानुभक्तको ऐतिहासिक योगदान छ ।

नपाल प्रज्ञा प्रतिष्ठान परिसरमा रहेको आदिकवि भानुभक्तको प्रतिमामा आज माल्यार्पणसहित विशेष कार्यक्रमको आयोजना गरिएको छ ।

यस अवसरमा भाषा, साहित्य र संस्कृतिका क्षेत्रमा काम गर्ने संस्थाले आज विभिन्न कार्यक्रम गरी भानु जयन्ती मनाउँदै छन् । भानु प्रतिष्ठान र नेपाली शिक्षा परिषद्लगायत संघसंस्थाले पनि विभिन्न कार्यक्रम आयोजना गरेका छन् ।

भानुभक्तको जन्मजयन्ती भारतको दार्जिलिङ, सिक्किम, भुटान, बर्मालगायत नेपाली भाषाभाषी धेरै रहेका देश एवं स्थानमा पनि मनाउने गरिएको छ ।