‘नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छ’ : शिक्षा तथा खेलकुदमन्त्री पोखरेल
काठमाण्डौ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध गराउने लक्ष्यका साथ काम गरिरहेको बताउनु भएको छ ।
काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयको ३१औँ दीक्षान्त समारोहमा उहाँले समृद्ध र समुन्नत समाज निर्माणका लागि शिक्षित युवाको सक्रिय भूमिका आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।
नयाँपिँढीले सोचेजस्तो समुन्नत समाज निर्माणार्थ सरकार प्रयासरत रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘यहाँहरुले सोच्नु भएको समाज कस्तो बनाउने भन्ने विषयमा हामी प्रयासरत छौँ, धेरै कोसिस गर्छौं, त्यसमा युवाको भूमिका सक्रिय रहनुपर्यो।’
मन्त्री पोखरेलले काठमाडौं विश्वविद्यालयबाट हालसम्म विविध विधामा ५१ हजारभन्दा बढी जनशक्ति उत्पादन भइसकेको हुँदा उनीहरुले पनि सरकारलाई सहयोग गरेर समुन्नत समाजका लागि देखेको सपना पूरा गर्नुपर्छ भन्ने आफ्नो अपेक्षा गरेको स्पष्ट पार्नुभयो ।
मन्त्री पोखरेलले केयुबाट हासिल गरेको ज्ञान, सीप र अनुभव नेपालमै सदुपयोग गर्दै राष्ट्र निर्माणमा योगदान दिन दीक्षित विद्यार्थीलाई आग्रह समेत गर्नुभयो ।

