धितोपत्र बोर्डका नवनियुक्त अध्यक्षकाे शपथ

काठमाण्डाै।  अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । आज मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री वाग्लेले उहाँलाई शपथ गराउनुभएको हो ।

यही असार ५ गते बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो ।

शपथपछि अर्थमन्त्री वाग्लेले अध्यक्ष भट्टलाई लगानीकर्ताको लगानीको सुरक्षा र हितमा इमानदारीपूर्वक काम गर्न निर्देशन दिनुभयो । लगानीकर्ताको लगानीको सुरक्षा र बजारमा पूँजी परिचालनमार्फत आर्थिक वृद्धिको लय समाउन नवनियुक्त अध्यक्षले विशेष ध्यान दिनुपर्ने उहाँकाे भनाइ छ ।

‘कुनै पनि लोभ र प्रभावमा नपरी पूँजीबजारका लगानीकर्ताको लगानीको सुरक्षा गर्नुहोस्’, अर्थमन्त्री वाग्लेले भन्नुभयो, ‘म साथमा छु । सरकारले सबैखाले सहयोग गर्छ । पूँजी परिचालनमार्फत आर्थिक वृद्धिको बाटो समात्ने वातावरण बनाउनुहोस् ।’

अर्थमन्त्री वाग्लेले पूँजीबजार सुधारका कामहरू गर्न हरेक दिन, हप्ता, महिना, ६ महिना र १ वर्षका योजना पेश गर्न पनि नवनियुक्त अध्यक्ष भट्टलाई निर्देशन दिनुभयो । बजारमा अनावश्यक हल्ला फैलाएर साना लगानीकर्तामाथि त्रास सिर्जना गरिएको भन्दै अर्थमन्त्री वाग्लेले त्यसलाई चिर्न पनि अध्यक्ष भट्टलाई निर्देशन दिनुभयो ।

‘पूँजीबजार सुधारका योजनाहरू समयसीमा बनाएर कार्यान्वयन गर्नुहोस् । बजारमा आत्मविश्वास बढाउँदै लगेर नियमनको भूमिका कुशलतापूर्वक निभाउनुहोस्’, उहाँले भन्नुभयो, ‘मन्त्रालयबाट कुनै प्रकारको हस्तक्षेप हुँदैन । धेरै बोलेर होइन, नतिजामा काम गर्नुहोस् । मलाई हरेक हप्ता बजारको ब्रिफिङ चाहिन्छ ।’

नवनियुक्त बोर्ड अध्यक्ष भट्टले सरकार र अर्थमन्त्रीको योजनाअनुसार पूँजीबजारको विकासमा इमानदारीपूर्वक काम गर्ने बताउनुभयो । आफ्नो ज्ञान, अनुभव र सीपलाई पूर्णरूपमा बजारका लगानीकर्ताको हित र सरकारको आर्थिक वृद्धिको लक्ष्यलाई सघाउने गरी प्रयोग गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो ।

पूँजीबजार सुधारका लागि विभिन्न समयमा भएका अध्ययन र सिफारिशहरू कार्यान्वयन गर्दै बजारको विकासमा निरन्तर काम गर्ने उहाँको भनाइ छ ।