मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०८२ बाट लेखक रमेश रुछेन राई सम्मानित

काठमाण्डौ । मदन भण्डारी फाउण्डेशनले प्रदान गर्दै आएको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०८२’ लेखक तथा अध्येता रमेश रुछेन राईलाई प्रदान गरेको छ। जननेता मदनकुमार भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आज काठमाडौंमा आयोजित विशेष समारोहबीच राईलाई पुरस्कार प्रदान गरिएको हो ।

फाउण्डेशनले यस वर्षको पुरस्कार राईद्वारा लिखित अनुसन्धानमूलक कृति ‘श्वेतशार्दूल (मदन भण्डारीको जीवन)’ का लागि प्रदान गर्ने निर्णय गरेको थियो। पुरस्कारस्वरूप राईलाई दुई लाख रुपैयाँ नगदसहित सम्मानपत्र प्रदान गरिएको छ ।

जननेता मदन भण्डारीको व्यक्तित्व, विचार, राजनीतिक योगदान तथा उहाँसँग सम्बन्धित अध्ययन, अनुसन्धान, प्रकाशन र वैचारिक बहसलाई प्रोत्साहन गर्ने उद्देश्यले फाउण्डेशनले यो पुरस्कार प्रदान गर्दै आएको छ ।

सम्बन्धित क्षेत्रका विज्ञहरू सम्मिलित स्वतन्त्र तीन सदस्यीय छनोट समितिको सिफारिसका आधारमा राईको कृति छनोट गरिएको फाउण्डेशनले जनाएको छ । ‘श्वेतशार्दूल (मदन भण्डारीको जीवन)’ ले मदन भण्डारीको जीवन, व्यक्तित्व, राजनीतिक यात्रा र वैचारिक योगदानलाई तथ्यपरक तथा अनुसन्धानमूलक ढंगले प्रस्तुत गरेको भन्दै छनोट समितिले मूल्यांकन गरेको हो ।

पुरस्कार वितरण समारोहसँगै ‘नेपालको कम्युनिष्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक राष्ट्रिय गोष्ठीसमेत आयोजना गरिएको थियो। कार्यक्रममा विभिन्न राजनीतिक व्यक्तित्व तथा विषय विज्ञहरूको सहभागिता रहेको थियो ।

मदन भण्डारी फाउण्डेशनले पुरस्कृत स्रष्टा रमेश रुछेन राईलाई बधाई दिँदै उहाँको सिर्जनात्मक तथा अनुसन्धानमूलक यात्राको सफलताको शुभकामना व्यक्त गरेको छ ।