मदन भण्डारी मेमोरियल कलेजको रजत जयन्ती समारोह सम्पन्न
काठमाण्डौ । मदन भण्डारी मेमोरियल कलेजले आफ्नो स्थापनाको २५औँ वर्ष पूरा गरेको अवसरमा आयोजना गरेको साताव्यापी रजत जयन्ती कार्यक्रम आज आइतबार सम्पन्न गरेको छ। समापन समारोहमा कलेज गीत सार्वजनिक तथा सम्मान एवं पुरस्कार वितरण कार्यक्रम आयोजना गरिएको थियो ।

समारोहका प्रमुख अतिथि उपराष्ट्रपति रामसहायप्रसाद यादवले वार्षिकोत्सव समारोहमा मन्तव्य राख्दै कलेजलाई सफल २५ वर्ष पूरा गरेकोमा शुभकामना व्यक्त गर्नुभयो । उहाँले शिक्षा प्रणालीको रूपान्तरणमा कलेजले खेलेको भूमिकाको प्रशंसा गर्दै शिक्षा क्षेत्रलाई नवीनता र अनुसन्धानसँग जोड्नुपर्नेमा जोड दिनुभयो । साथै उहाँले विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्नुभयो ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति एवं विशिष्ट अतिथि प्रा. दीपक अर्यालले सामुदायिक कलेजहरूमध्ये मदन भण्डारी मेमोरियल कलेजको उपलब्धि उल्लेखनीय रहेको बताउनुभयो । कलेजले प्राप्त गरेको विश्वविद्यालय अनुदान आयोग (यूजीसी) को गुणस्तर सुनिश्चितता तथा प्रत्यायनले पनि कलेजको शैक्षिक गुणस्तर र योगदानलाई पुष्टि गर्ने उहाँको भनाइ थियो । उहाँले शिक्षक तथा विद्यार्थीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका अनुसन्धानमूलक कार्यमा सक्रिय हुन आग्रह गर्नुभयो ।

कलेजका प्रमुख डा. बाबुराम अधिकारीले समारोहमा उपस्थित अतिथि, शिक्षक, कर्मचारी, विद्यार्थी तथा सम्पूर्ण सहयोगीप्रति आभार व्यक्त गर्नुभयो । उहाँले सामाजिक तथा शैक्षिक उन्नयनमा कलेज निरन्तर अगाडि बढिरहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

रजत जयन्ती समापन समारोहमा कलेज म्यागेजिन ‘श्वेत शार्दूल’ को विमोचन, उत्कृष्ट शिक्षक, कर्मचारी तथा विद्यार्थीलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो । कार्यक्रममा वृहत् सांस्कृतिक प्रस्तुति तथा रजत जयन्तीसम्बन्धी वृत्तचित्र प्रदर्शनसमेत गरिएको थियो ।


साताव्यापी कार्यक्रमअन्तर्गत आयोजित विभिन्न गतिविधिमा विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो । समापन समारोहमा समेत विद्यार्थीहरूले गायन, नृत्य तथा विभिन्न प्रतिभा प्रस्तुत गर्दै कार्यक्रमलाई थप आकर्षक बनाएका थिए । साताव्यापी कार्यक्रम विभिन्न शैक्षिक, सांस्कृतिक तथा सिर्जनात्मक गतिविधिसहित सम्पन्न भएको हो ।

