मदन भण्डारी कलेजको सेवामूलक पहल, गुरुकुलका बटुकलाई भोजन तथा दक्षिणा वितरण
काठमाण्डौ । मदन भण्डारी मेमोरियल कलेजले आफ्नो २५औँ वार्षिकोत्सव (रजत जयन्ती) अन्तर्गत छैटौँ दिन आज तारकेश्वर नगरपालिका–२ स्थित विराट सनातन धर्म संस्कृति विद्यापीठ (गुरुकुल) मा भोजन तथा दक्षिणा वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

कलेजका क्याम्पस प्रमुख डा. बाबुराम अधिकारीको नेतृत्वमा गएको टोलीले गुरुकुलमा अध्ययनरत बटुकहरूलाई भोजन तथा ४० हजार ३ सय ५५ रुपैयाँ दक्षिणा प्रदान गरेको हो ।

कार्यक्रममा मदन भण्डारी मेमोरियल उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक कमल न्यौपाने, प्लस टु संयोजक निरुजा फुयाँल, लक्ष्मी चापागाईं, पत्रकारीता तथा आमसञ्चारका प्राध्यापकद्वय यामबहादुर दुरा र सुनिल पौडेल, प्राध्यापक विद्रोह दाहाल र कमल मिश्रलगायत कर्मचारीहरूको उपस्थिति रहेको थियो ।



कार्यक्रममा क्याम्पस प्रमुख डा. अधिकारीले यस्तो मानवीय तथा सामाजिक कार्यमा सहभागी हुन पाउँदा खुसी लागेको बताउनुभयो । उहाँले कलेज परिवार सामाजिक उत्तरदायित्वसँग जोडिएका सकारात्मक कार्यहरू गर्न उत्साहित रहेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो । उहाँले गुरुकुलमा अध्ययनरत बटुकहरूको उच्च शिक्षाको यात्राका लागि शुभकामना दिँदै आवश्यक सहयोगका लागि कलेज सदैव सकारात्मक रहने बताउनुभयो ।

कार्यक्रममा विराट सनातन धर्म संस्कृति विद्यापीठ (गुरुकुल) का विद्यालय व्यवस्थापन समिति अध्यक्ष कृष्णप्रसाद अधिकारीसहित अन्य पदाधिकारी तथा कर्मचारीहरूको सहभागिता रहेको थियो । गुरुकुल परिवारले मदन भण्डारी मेमोरियल कलेजले गरेको सहयोग तथा सामाजिक पहलप्रति धन्यवाद व्यक्त गरेको छ ।

वि.सं. २०६९ सालमा स्थापना भएको उक्त गुरुकुलले हाल ४० जना बटुकलाई खान, बस्न र अध्ययनसहितको सुविधा प्रदान गर्दै आएको छ । मदन भण्डारी मेमोरियल कलेजले २५औँ वार्षिकोत्सवका अवसरमा शैक्षिक गतिविधिसँगै सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूलाई समेत प्राथमिकता दिँदै आएको छ । कलेजले भोलि असार १४ गते आफ्नो २५औँ वार्षिकोत्सव मनाउँदैछ ।

