शेयर बजार लगातार चौथो कारोबार दिन पनि घट्यो
काठमाण्डौ । शेयर बजार आज लगातार चौथो कारोबार दिन घटेको छ । नेप्से परिसूचक आज ८ दशमलव ५० अङ्कले घटेर २ हजार ६५१ दशमलव ५२ विन्दुमा झरेको छ ।
नेप्से ४ महिनायताकै न्यून विन्दुमा झरेको हो । गएको फागुन १३ गते नेप्से २ हजार ६४८ विन्दुमा रहेको थियो ।
नयाँ सरकार गठन भएयता नेप्से झन्डै ३०० अङ्कले घटेको छ । बालेन्द्र शाहले गएको जेठ १३ गते प्रधानमन्त्रीको शपथ लिँदा नेप्से २ हजार ९५० विन्दुमा रहेको थियो ।
आज उत्पादन तथा प्रशोधन बाहेक सबै समूहको सूचक घटेकोमा व्यापार समूहको सूचक झन्डै २ प्रतिशतले ओरालो लागेको छ ।
आज १७२ वटा कम्पनीको शेयर घटेकोमा ८३ वटाको बढेको छ । यस्तै १९ वटा कम्पनीको शेयर भने घटबढ भएको छैन ।
आज भुजुङ हाइड्रोपावरको शेयर ११ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन टक्सार पिखुवा खोला हाइड्रोपावर र याम्बलिङ हाइड्रोपवारको शेयर १५ प्रतिशतले बढेको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो ४ अर्ब ४१ करोडको कारोबार भएकोमा आज ३३८ वटा कम्पनीका ६४ लाख ८० हजार रुपैयाँमा किनबेच भएको छ ।
यो कारोबार रकम जेठ ४ गतेयताकै कम हो । त्यस दिन २ अर्ब ४५ करोड रुपैयाँको शेयर कारोबार भएको थियो ।

