भेनेजुएलामा शक्तिशाली भूकम्प : जनधनको ठूलो क्षति भएको आशंका
एजेन्सी । भेनेजुएलाको राजधानी काराकास सहित देशका विभिन्न क्षेत्रमा हिजो बेलुकी केही समयको फरकमा दुईवटा शक्तिशाली भूकम्प गएको छ ।
अमेरिकी भूगर्भ सर्वेक्षण यूएसजीएसलाई उद्धृत गर्दै बीबीसीका अनुसार पहिलो ७.२ म्याग्निच्युड र झण्डै ३९ सेकेन्डपछि ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ ।
भूकम्पको केन्द्रबिन्दु क्यारिबियन तटीय सहर मोरोन नजिक रहेको र यो काराकासबाट झण्डै १६८ किलोमिटर पश्चिममा पर्छ । भूकम्पका कारण राजधानीका धेरै भवन, आवासीय संरचना र पर्खालहरू भत्किएका छन् भने सडकमा धूलो र भग्नावशेष फैलिएको खबरमा उल्लेख छ ।
भूकम्प स्थानीय समयअनुसार बेलुकी ६ बजेर ४ मिनेटमा गएको हो । राष्ट्रिय बिदा भएकाले धेरै नागरिक घरमै रहेका कारण ठूलो मानवीय क्षति भएको हुन सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
भूकम्पपछि हजारौं मानिस घर तथा कार्यालयबाट बाहिर निस्किएर सडक र खुला ठाउँमा रात बिताउन बाध्य भएका छन् । ग्यास चुहावट र थप संरचनागत क्षति हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै केही क्षेत्रमा ग्यास आपूर्ति समेत बन्द गरिएको छ ।
प्रारम्भिक अनुमानमा मानवीय र व्यापक भौतिक क्षतिको आशंका गरिएको छ । भूकम्पको धक्का छिमेकी देश कोलम्बियासम्म महसुस गरिएको छ । उद्धारकर्मी, सेना, प्रहरी तथा स्वास्थ्यकर्मीहरू प्रभावित क्षेत्रमा परिचालित भएका छन् ।
अस्पतालहरूमा घाइतेहरूको चाप बढ्दै गएको छ भने भग्नावशेषमा पुरिएकाहरूको खोजी तथा उद्धार कार्य चलिरहेको खबरमा उल्लेख छ ।

