साताव्यापी कार्यक्रम सुरु : ‘पहिलो दिन योग तथा ध्यान’ र ‘ई-स्पोर्ट्स प्रतियोगिता’

काठमाण्डौ । मदन भण्डारी मेमोरियल कलेजले आफ्नो वार्षिक उत्सवको अवसरमा साताव्यापी विविध कार्यक्रमहरूको सुरुवात गरेको छ ।

आज कलेज व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र बहादुर पाण्डे तथा कलेजका प्रमुख डा.बाबुराम अधिकारीको प्रमुख आतिथ्यमा आयोजित एक समारोहबीच साताव्यापी कार्यक्रमको विधिवत उद्घाटन गरिएको हो ।

कार्यक्रममा कलेज व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र बहादुर पाण्डेले प्रविधि युगको अपरिहार्यतामा जोड दिनु भयो । पाण्डेले प्रविधिको सही प्रयोगमार्फत विद्यार्थीलाई सिर्जनात्मक र सकारात्मक दिशामा अघि बढाउन आवश्यक रहेको उल्लेख गर्दै यस्ता गतिविधिले युवालाई सही मार्गदर्शन गर्ने विश्वास व्यक्त गर्नुभयो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै क्याम्पस प्रमुख डा. बाबुराम अधिकारीले  कलेजले विगत तीन वर्षदेखि वार्षिक उत्सवलाई साताव्यापी रूपमा मनाउँदै आएको उल्लेख गर्दै यस वर्ष कार्यक्रमलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन विभिन्न विधामा विभाजन गरिएको जानकारी दिनु भयो । उहाँका अनुसार असार ८ गतेदेखि १४ गतेसम्म सञ्चालन हुने कार्यक्रममा सामाजिक उत्तरदायित्व अन्तर्गत ज्येष्ठ नागरिक सम्मान तथा विभिन्न नीतिगत संवादहरू आयोजना गरिनेछ । विद्यार्थीको चौतर्फी विकास र राष्ट्र निर्माणमा योगदान पुर्‍याउने उद्देश्यले यो रजत जयन्ती मनाउन लागिएको उहाँको भनाइ छ ।

साताव्यापी कार्यक्रम अन्तर्गत आज पहिलो दिन योग शिविरको आयोजना गरीएको थियो । प्रशिक्षक गम्भीर श्रेष्ठले सहजीकरण गर्नुभएको उक्त योग सत्रमा कलेजका सहायक क्याम्पस प्रमुखहरू, विभागिय प्रमुखहरू, प्राध्यापक, कर्मचारी र विद्यार्थीहरूको उत्साहजनक उपस्थिति रहेको थियो ।

यस वर्षको वार्षिकोत्सवको विशेष आकर्षणका रूपमा अन्तर कलेज स्तरीय ‘मोबाइल लेजेन्ड्स ब्याङ ब्याङ ई स्पोर्ट्स प्रतियोगिता सुरु भएको छ। उक्त प्रतियोगितामा देशभरका २४ वटा कलेजहरू सहभागी भएका थिए, जसमध्ये अनलाइन छनोट चरण पार गर्दै ८ वटा उत्कृष्ट टोलीहरू अन्तिम प्रतिस्पर्धा फाइनल राउन्डका लागि कलेजमा उपस्थित भएका छन् ।

कार्यक्रमका आयोजक तथा कलेजका अतिरिक्त क्रियाकलापका संयोजक मोहित गुरागाइँले यो प्रतियोगिता उपत्यकाभित्रका ६ र उपत्यका बाहिरका २ वटा कलेजहरूको प्रतिस्पर्धा रहने जानकारी दिनुभयो । यसले विद्यार्थीहरूको प्रतिभालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न मद्दत गर्ने कलेज प्रशासनको विश्वास छ।

सप्ताहव्यापी कार्यक्रममा स्वास्थ्य शिविर, नीतिगत संवाद र ट्राफिक सचेतना लगायतका सामाजिक कार्यक्रमहरू पनि समावेश गरिएका छन्। विद्यार्थीको रुचि, बजारको माग र समाजसँगको सहकार्यलाई प्राथमिकतामा राखेर आयोजना गरिएका यी कार्यक्रमहरूले विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा टेवा पुग्ने विश्वास कलेजले लिएको छ।

दोस्रो दिन पेशा परामर्श, रोजगारी अवसर सम्बन्धी कार्यक्रम, उद्यमशीलता विषयक रेडियो संवाद तथा खाद्य महोत्सव आयोजना गरिनेछ।

तेस्रो दिन निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सञ्चालन गरिनेछ भने चौथो दिन पूर्वविद्यार्थी भेला, विद्यार्थी विदाइ तथा सम्मान कार्यक्रम आयोजना गरिनेछ। पाँचौं दिन समसामयिक विषयमा नीति संवाद, साइबर सुरक्षा, डिजिटल साक्षरता तथा लैंगिक हिंसासम्बन्धी विज्ञ व्याख्यान सञ्चालन गरिनेछ।

छैटौं दिन सामाजिक उत्तरदायित्व अन्तर्गत जेष्ठ नागरिक सम्मान तथा अन्य सामुदायिक कार्यक्रमहरू आयोजना गरिनेछन् । अन्तिम दिन असार १४ गते भव्य समापन समारोह आयोजना गरिनेछ।

समापन समारोहमा सम्माननीय उपराष्ट्रपति रामसहाय प्रसाद यादवको प्रमुख आतिथ्यता रहने कलेजले जनाएको छ । सो अवसरमा ‘कलेज गीत’ सार्वजनिक गरिनुका साथै वार्षिक प्रकाशन ‘श्वेत शार्दूल’ को २२ औँ अंकको विमोचन गरिनेछ । साथै, कलेजका संस्थापकहरू, उत्कृष्ट शिक्षक, कर्मचारी र विद्यार्थीहरूलाई विशेष सम्मान तथा पुरस्कार प्रदान गरिने कार्यक्रम छ