मदन भण्डारी कलेजमा साताव्यापी विशेष कार्यक्रमसहित ‘रजत जयन्ती’ मनाइँदै

काठमाण्डौ । मदन भण्डारी मेमोरियल कलेजले आफ्नो स्थापनाको २५ वर्ष पूरा गरेको अवसरमा साताव्यापी विविध शैक्षिक तथा सिर्जनात्मक कार्यक्रमसहित ‘रजत जयन्ती’ मनाउने भएको छ ।

कलेजका प्रमुख डा. बाबुराम अधिकारीले आज आयोजित पत्रकार सम्मेलनमार्फत असार ८ गतेदेखि १४ गतेसम्म सञ्चालन हुने कार्यक्रमको जानकारी गराउनुभएको हो । विद्यार्थीको चौतर्फी विकास र राष्ट्र निर्माणमा योगदान पुर्‍याउने उद्देश्यले यो रजत जयन्ती मनाउन लागिएको उहाँको भनाइ छ ।

क्याम्पस प्रमुख डा. अधिकारीले पत्रकार सम्मेलनमा बोल्दै भन्नुभयो, “हामीले यस २५ वर्षको यात्रामा राष्ट्रलाई आवश्यक सक्षम, दक्ष र जिम्मेवार जनशक्ति उत्पादन गर्ने ध्येय लिएका छौँ। रजत वर्षका कार्यक्रमहरू पनि विद्यार्थीहरूको शारीरिक, मानसिक र बौद्धिक क्षमता विकासमा नै केन्द्रित छन्।”

कार्यक्रमको पहिलो दिन योग तथा ध्यान शिविर, उद्घाटन समारोह, ‘मोबाइल लेजेन्ड्स ब्याङ ब्याङ’ इ-स्पोर्ट्स  खेलकुद प्रतियोगिता तथा ‘२५ वर्षको यात्रा’ फोटो प्रदर्शनी गरिनेछ। दोस्रो दिन पेशा परामर्श, रोजगारी अवसर सम्बन्धी कार्यक्रम, उद्यमशीलता विषयक रेडियो संवाद तथा खाद्य महोत्सव आयोजना गरिनेछ।

तेस्रो दिन निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सञ्चालन गरिनेछ भने चौथो दिन पूर्वविद्यार्थी भेला, विद्यार्थी विदाइ तथा सम्मान कार्यक्रम आयोजना गरिनेछ। पाँचौं दिन समसामयिक विषयमा नीति संवाद, साइबर सुरक्षा, डिजिटल साक्षरता तथा लैंगिक हिंसासम्बन्धी विज्ञ व्याख्यान सञ्चालन गरिनेछ।

छैटौं दिन सामाजिक उत्तरदायित्व अन्तर्गत जेष्ठ नागरिक सम्मान तथा अन्य सामुदायिक कार्यक्रमहरू आयोजना गरिनेछन् । अन्तिम दिन असार १४ गते भव्य समापन समारोह आयोजना गरिनेछ।

समापन समारोहमा सम्माननीय उपराष्ट्रपति रामसहाय प्रसाद यादवको प्रमुख आतिथ्यता रहने कलेजले जनाएको छ उक्त अवसरमा कलेजको विशेष ‘कलेज गीत’ सार्वजनिक गरिनुका साथै वार्षिक प्रकाशन ‘श्वेत शार्दूल’ को २२ औँ अंकको विमोचन गरिनेछ साथै, कलेजका संस्थापकहरू, उत्कृष्ट शिक्षक, कर्मचारी र विद्यार्थीहरूलाई विशेष सम्मान तथा पुरस्कार प्रदान गरिने कार्यक्रम छ

यस्तै कार्यक्रममा बोल्दै कलेज व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र बहादुर पाण्डेले कलेजको आदर्श वाक्यलाई जोड दिँदै आजको शिक्षा केवल किताबी ज्ञानमा मात्र सीमित हुन नहुने बताउनुभयो। अध्यक्ष पाण्डेले महोत्सवको पहिलो दिन गरिएको ‘योग तथा ध्यान’ शिविरको सान्दर्भिकता प्रस्ट्याउँदै विश्वभर प्रचलित ध्यान र योगले विद्यार्थीको एकाग्रता र बौद्धिक क्षमता विकासमा मद्दत पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

महोत्सवका कार्यक्रमहरू केवल औपचारिकतामा मात्र सीमित नरही समाजसँग जोडिने माध्यम भएको उहाँको भनाई छ । अध्यक्ष पाण्डेले रजत महोत्सवको सफलताले कलेजप्रतिको आकर्षण बढ्नुका साथै भोलिका दिनमा नेपाल र नेपालीको हितमा काम गर्ने सक्षम जनशक्ति उत्पादन गर्न थप अभिप्रेरणा मिल्ने बताउनुभयो।

कलेजले रजत महोत्सवका यी कार्यक्रमहरूलाई सफल बनाउन सम्पूर्ण विद्यार्थी, अभिभावक, सरोकारवाला र आम नागरिकलाई सक्रिय सहभागिताका लागि आह्वान गरेको छ।

विश्वविद्यालय अनुदान आयोगबाट २०८१ मा गुणस्तर सुनिश्चितता प्राप्त यस कलेजले समाज र राष्ट्रको सकारात्मक परिवर्तनका लागि सक्षम र जिम्मेवार जनशक्ति उत्पादनमा निरन्तर लागिपर्ने प्रतिद्धता जनाएको छ

मदन भण्डारी मेमोरियल कलेज जननेता मदन भण्डारीको स्मृतिमा २०५८ सालमा सर्वसुलभ एवम् गुणस्तरीय शिक्षा दिने अभिप्रायले सामुदायिक कलेजको रुपमा स्थापना भएको हो ।यस कलेजमा कक्षा ११ देखि स्नातकोत्तर तहसम्म अध्यापन हुँदै आएको छ ।