इस्कोनका सञ्चालक सुरजकृष्ण श्रेष्ठ बालबालिकाविरुद्धको कसुरमा प्रहरी हिरासतमा
काठमाण्डौ । काठमाण्डौको बूढानीलकण्ठ नगरपालिका–५ स्थित अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) का सञ्चालक सुरजकृष्ण श्रेष्ठ अहिले प्रहरी पक्राउ परेका छन् ।
जेठ २७ गते पक्राउ परेका सुरजकृष्ण जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाण्डौको हिरासतमा छन् । त्यसयता उनलाई परिसरको हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिहरेको छ ।
परिसरका प्रहरी उपरीक्षक (एसपी) तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार उनीमाथि अहिले बालबालिकाविरुद्धको कसुरमा अनुसन्धान भइरहेको छ ।
इस्कोनले नै बूढानीलकण्ठमा भक्तिवेदान्त गुरूकुल सञ्चालन गरेको छ । उक्त गुरुकुलमा विद्यार्थीहरुलाई अध्यापन गराइन्छ । जसमध्ये एक बालकलाई सञ्चालक सुरजकृष्णले दुव्यर्वहार गरेको प्रहरीले बताएको छ ।
पीडित बालकका आफन्तले गत जेठको पहिलो सातामा प्रहरीमा उजुरी दिएका थिए । त्यसपछि २७ जेठमा प्रहरीले सञ्चालक सुरजकृष्णलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको हो । सुरजकृष्णले ती बालकलाई शारीरीक, मानसिक चोट दिएको बताइएको छ ।
कुटपिट गर्ने, हात हाल्ने, दुर्व्यवहार गर्ने, उपेक्षा गर्ने, भेदभाव गर्ने गरेको भन्दै सुरजकृष्णविरुद्ध प्रहरीमा उजुरीमा परेको थियो । अहिले घटनासँग सम्बन्धीत व्यक्तिहरु बुझ्नेदेखि बालकको घाउचोट जाँचको काम मनोपरामर्शको काम समेत गरिएको प्रहरीले बताएको छ ।
जाँच गर्ने डाक्टरसँग समेत बुझ्ने काम भएको प्रहरीले बताएको छ । यता पक्राउ परेका सुरजकृष्णको बयानको काम समेत सकिएको प्रहरीले बताएको छ ।

