कैलालीमा टेम्पो भीरबाट खसालेको घटनाबारे छानबिन गर्न समिति गठन
काठमाण्डौ । कैलालीमा वन कार्यालयका कर्मचारीले भीरबाट टेम्पो खसालिदिएको घटनाबारे छानबिन गर्न सुदूरपश्चिम प्रदेश सरकारले समिति गठन गरेको छ ।
वन कर्मचारीको कार्यशैलीप्रति सामाजिक सञ्जाल र सञ्चारमाध्यममा तीव्र आलोचना भएपछि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले ५ सदस्यीय समिति गठन गरेको हो । वन निर्देशक हेमराज विष्टको संयोजकत्वमा गठन भएको समितिले ७ दिनभित्र प्रतिवेदन बुझाउनेछ ।
घटनाको पृष्ठभूमि र दोषीको पहिचान गर्न सरकारले प्रशासन, प्राविधिक र कानूनी विज्ञहरूलाई समितिमा राखेको छ ।
गोदावरी नगरपालिका वडा नम्बर ४ को चुरे क्षेत्रमा वन अतिक्रमण हटाउने क्रममा एउटा टेम्पो भीरबाट खसालिदिएको भिडियो सामाजिक सञ्जालमा चर्चित बनेपछि वन कर्मचारीको कार्यशैलीप्रति तीव्र असन्तुष्टि व्यक्त भएको थियो ।
टेम्पो खसाल्ने काममा संलग्नहरूलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

