उपत्यका ट्राफिक प्रहरीको विशेष सडक सचेतना अभियान सुरु

काठमाण्डौ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाभर ‘जिम्मेवार चालक बनौँ, जरिवानाबाट बचौँ’ भन्ने नाराका साथ आजदेखि विशेष सडक सचेतना अभियान सुरु गरेको छ।

काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउने तथा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले बताउनु भयो ।

उहाँका अनुसार अभियानअन्तर्गत सडक सुरक्षा, ट्राफिक नियमको पालना, चालक तथा यात्रुमा सचेतना अभिवृद्धिलगायतका विषयमा केन्द्रित गतिविधि सञ्चालन गरिनेछ। अभियानको पहिलो दिन काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेश काफ्ले पुतलीसडक लगायतका मुख्य चोकमा खटिएका थिए।

प्रहरी वरिष्ठ उपरीक्षक काफ्लेले ट्राफिक प्रहरीको उद्देश्य जरिवाना मात्रै गर्ने नभई चालकलाई जिम्मेवार र अनुशासित बनाउनु रहेको बताउनु भयाे । ट्राफिक नियम उल्लङ्घनबाट हुने कारबाही तथा जरिवानाबाट चालकलाई सचेत गराउँदै सुरक्षित सडक यात्राको वातावरण निर्माण गर्ने उद्देश्यले उक्त अभियान सञ्चालन गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।