पब्लिक क्याम्पस संघको प्रथम राष्ट्रिय सम्मेलन सुरु, उच्च शिक्षा सुधार र शिक्षक व्यवस्थापनमा जोड

सुप्रिया राई, जेठ ३०, काठमाण्डौ । नेपाल पब्लिक क्याम्पस संघको प्रथम राष्ट्रिय सम्मेलन आजदेखि ललितपुरको धोबिघाटमा सुरु भएको छ ।

सार्वजनिक क्याम्पसको गुणस्तर सुधार, शिक्षक व्यवस्थापन, उच्च शिक्षाको नीति तथा संस्थागत सुधारका विषयमा केन्द्रित रहि दुई दिनसम्म सञ्चालन हुने यस सम्मेलनको उद्घाटन प्रमुख अतिथि प्रा. डा. सुशील बहादुर बज्राचार्यले गर्नुभयो ।

सम्मेलनमा देशभरका ५५० बढि सदस्य पब्लिक क्याम्पसका प्रतिनिधि र शिक्षाविदहरुको उपस्थिति रहेको थियो । उद्घाटन सत्रमा बोल्दै संघका वरिष्ठ उपाध्यक्ष तथा पूर्वमन्त्री प्रदीप कुमार कटुवालले नेपाल पब्लिक क्याम्पस संघ स्थापना गर्दाका चुनौतीबारे चर्चा गर्दै विद्यार्थीको रुचिअनुसार विद्यार्थीमैत्री पाठ्यक्रम निर्माण गर्नुपर्ने बताउनुभयो ।

संघका केन्द्रीय अध्यक्ष शत्रुघ्न प्रसाद गुप्ताले संघको उद्देश्य सदस्य क्याम्पस र त्यहाँ अध्यापनरत शिक्षकहरूको अवस्था सुधार गर्नु रहेको बताउनुभयो । उहाँले शिक्षकहरूको स्तर निर्धारण अहिलेको महत्वपूर्ण विषय बनेको उल्लेख गर्दै शिक्षकहरूको योगदान र प्रयासलाई सम्मान गर्ने गरी त्रिभुवन विश्वविद्यालयसहित सम्बन्धित निकायले ध्यान दिनुपर्ने धारणा राख्नुभयो ।

सम्मेलनमा मुख्य वक्ता प्रा. डा. तीर्थराज खनियाले उच्च शिक्षाको नीति, समस्या समाधान, चुनौती तथा शिक्षण व्यवस्थापनका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आयामहरू विषयमा कार्यपत्र प्रस्तुत गर्नुभयो ।

डा. देवराज अधिकारीले विद्यार्थीहरू उच्च शिक्षाका लागि विदेश जाने क्रम बढे पनि सार्वजनिक क्याम्पसमा विद्यार्थी भर्ना बढ्नु सकारात्मक पक्ष भएको बताउनुभयो । शिक्षाविद् केदार भक्त माथेमाले विश्वविद्यालय तथा सम्बन्धन प्राप्त संस्थाहरूमा शिक्षण–सिकाइ अभ्यासको गुणस्तर परीक्षण आवश्यक रहेको बताउनुभयो । उहाँले प्रभावकारी अनुगमनको अभावमा सम्बन्धन प्रणाली चुनौतीपूर्ण बनेको उल्लेख गर्दै स्वायत्त क्याम्पस प्रणालीले उच्च शिक्षामा विविधता, नवीनता र सिर्जनशीलता विकास गर्न सक्ने धारणा राख्नुभयो ।

त्यस्तै प्रा. डा. दीपक अर्यालले त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय स्तर सुधार गर्नुपर्ने आवश्यकता औँल्याउँदै सार्वजनिक क्याम्पसको गुणस्तर अभिवृद्धिमा ध्यान दिनुपर्ने बताउनुभयो ।

शिक्षा विभागका प्रमुख मिलन पाण्डेले शिक्षा क्षेत्रमा धेरै सुधार आवश्यक रहेको उल्लेख गर्दै सार्वजनिक क्याम्पसको विकासका लागि सरकार सहकार्य गर्न तयार रहेको बताउनुभयो । उहाँले शिक्षकलाई सम्मान र उचित व्यावसायिक पहिचान दिन सके शिक्षा क्षेत्रको अवस्था सुधार हुने धारणा राख्नुभयो ।

सम्मेलनको दोस्रो सत्रमा मदन भण्डारी मेमोरियल कलेजका क्याम्पस प्रमुख डा. बाबुराम अधिकारीले गुणस्तर सुनिश्चितता र जनशक्ति व्यवस्थापनका विविध आयामहरू विषयमा प्रस्तुति दिनुभयो ।

उहाँले संस्थागत उत्कृष्टता कायम गर्न गुणस्तर सुनिश्चितता र मानव स्रोत व्यवस्थाप बीचको सम्बन्ध महत्वपूर्ण रहेको बताउनुभयो । गुणस्तरीय शिक्षा प्रदान गर्न पाठ्यक्रमको सान्दर्भिकता, विद्यार्थी सहयोग, मूल्याङ्कन प्रणाली, शिक्षक विकास, कार्यसम्पादन मूल्याङ्कन तथा प्रविधिको प्रभावकारी प्रयोगमा ध्यान दिनुपर्ने उहाँको भनाइ थियो । उहाँले गुणस्तर सुधारका लागि शैक्षिक गतिविधिसँगै दक्ष जनशक्ति, प्रभावकारी व्यवस्थापन र संस्थागत संस्कृतिको विकास आवश्यक रहेको उल्लेख गर्नुभयो ।

त्यसैगरी मदन भण्डारी मेमोरियल कलेजका अनुसन्धान व्यवस्थापन समितिका सदस्य–सचिव डा. प्रमोदराज उपाध्यायले संस्थाको गुणस्तर कायम राख्न मानव स्रोतको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । उहाँले कुनै पनि संस्थाको प्रभावकारी सञ्चालनका लागि पारदर्शिता, नेतृत्व र नीतिगत समन्वय आवश्यक रहेको धारणा राख्नुभयो । सोही सत्रमा मदन भण्डारी मेमोरियल कलेजका सहायक क्याम्पस प्रमुख (प्रशासन) डा. तारा प्रसाद गौतम पनि उपस्थित हुनुहुन्थ्यो ।

दोस्रो सत्रमा डा. नानीबाबु घिमिरेले सामुदायिक क्याम्पसमा कार्यरत शिक्षकहरूका समस्या, चुनौती र स्तर निर्धारणका उपायहरू तथा डा. टोलनाथ काफ्लेले सामुदायिक क्याम्पसका जनशक्तिको पेसागत पहिचान, स्तरोन्नति र व्यवस्थापन विषयमा प्रस्तुति दिनुभएको थियो ।

प्रस्तुत कार्यपत्रहरूमाथि अन्तरक्रिया समेत गरिएको थियो । सम्मेलनको दोस्रो दिन सामुदायिक क्याम्पसमा कार्यरत शिक्षकहरूको स्तर निर्धारण, उच्च शिक्षा सुधार तथा सार्वजनिक क्याम्पसका समसामयिक विषयमा थप छलफल तथा अन्तरक्रिया हुने कार्यक्रम रहेको छ ।