पाराग्वेविरुद्ध अमेरिकाको सानदार जित

काठमाण्डौ । आयोजक अमेरिकाले फिफा विश्वकप–२०२६ को पहिलो खेलमा पाराग्वेविरुद्ध सानदार जित निकालेको छ ।

लस एन्जलस रङ्गशालामा शनिबार बिहान भएको खेलमा अमेरिकाले पाराग्वेलाई ४–१ गोलले हरायो । विश्वकपमा अमेरिकाले पहिलो पटक एकै खेलमा चार गोल गरेको हो ।

अमेरिकाको जितमा फोलारिन बालोगुनले दुई तथा जियोभानी रेयनाले एक गोल गर्नुभयो । अमेरिकाले अर्को गोल पाराग्वेबाट आत्मघाती उपहार पाएको थियो । पाराग्वेका लागि मौरिसियोले सान्त्वना गोल गर्नुभयो ।

अमेरिकाले सातौँ मिनेटमा विपक्षी डामियन बोबाडिलाको आत्मघाती गोलमा सुरुवाती अग्रता लिएको थियो । त्यसपछि बालोगुनले ३१औँ र पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै टोलीको अग्रता फराकिलो बताउनुभयो ।

७३औँ मिनेटमा पाराग्वेका मौरिसियोले गोल गर्दै पाहुना टोलीलाई खेलमा फर्काउने प्रयास गर्नुभयो । तर दोस्रो हाफको इन्जुरी सकयमा रेयनाले गोल गर्दै अमेरिकालाई सजिलै जिताउनुभयो ।

अमेरिकाले पहिलो जितसँगै समूह ‘डी’ मा तीन अङ्क बनाएको छ । पराजित पाराग्वेले हारबाट विश्वकपको सुरुवात गरेको छ । यस समूहमा अस्ट्रेलिया र टर्की पनि रहेको छ । एजेन्सी