काभ्रे बस दुर्घटनाका मृतक सबैको पहिचान खुल्यो
बनेपा । बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२, सेल्फीडाँडामा भएको बस दुर्घटनामा मृत्यु भएका आठै जनाको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक (डीएसपी) रबिन विष्टका अनुसार शुक्रबार भएको दुर्घटनामा ज्यान गुमाउने सबै मृतकको पहिचान भएको हो ।
मृतकहरूमा रोशी गाउँपालिका–६ का ७३ वर्षीय मेघबहादुर तामाङ, सोही गाउँपालिकाका बसधनी ७५ वर्षीय इन्द्रबहादुर तामाङ, रोसी गाउँपालिका–७ की ३४ वर्षीया फुलमाया तामाङ र रोशी गाउँपालिका–८ की ६० वर्षीया प्यारीमाया तामाङ तथा दैलेख घर भई हाल भकुण्डेस्थित त्रिनेत्र दल गणमा कार्यरत अमलदार ३० वर्षीय बमबहादुर भण्डारी रहनुभएको छ ।
त्यस्तै, सिन्धुलीको घ्याङलेख गाउँपालिका–४ की २२ वर्षीया सुमी तामाङ, रोसी गाउँपालिका–६ का ५५ वर्षीय राजु तामाङ र रोसी गाउँपालिका–७ की ६० वर्षीया माया तामाङको पनि दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ ।
शुक्रबार दिउँसो करिब २ः१५ बजे बनेपाबाट रोसी गाउँपालिका–६, सुँगुरेतर्फ जाँदै गरेको पूर्व अरनिको यातायातको बा ३ ख ८३९८ नम्बरको बस नमोबुद्ध नगरपालिका–२, सेल्फीडाँडामा दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा बसमा सवार १६ जना यात्रु घाइते भएका छन् । घाइतेहरूको धुलिखेल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ।

