विद्यार्थीलाई उद्योगसँग जोड्दै एमबीएम कलेज, तीन कम्पनीसँग सहकार्य
काठमाण्डौ । मदन भण्डारी मेमोरियल कलेजले विद्यार्थीहरुको व्यावसायिक दक्षता अभिवृद्धि तथा रोजगारीमुखी शिक्षालाई प्रवद्र्धन गर्ने उद्देश्यले तीन निजी संस्थासँग समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरेको छ ।
कलेजले आज एन अब्सेसन इन्टरनेशनल प्रा.लि., नारायण इन्टरनेशनल प्रा.लि. तथा म्युजिक डट कम प्रा.लि. सँग छुट्टाछुट्टै समझदारी गरेको हो ।

सम्झौतापत्रमा कलेजका तर्फबाट प्रमुख डा.बाबुराम अधिकारी, नारायण इन्टरनेशनल प्रा.लि. तथा म्युजिक डट कम प्रा.लि. का तर्फबाट प्रबन्ध निर्देशक राजेश कुमार अग्रवाल तथा एन अब्सेसन इन्टरनेशनल प्रा.लि. का प्रबन्ध निर्देशक जयेश कुमार अग्रवालले संयुक्तरुपमा हस्ताक्षर गर्नुभएको हो ।
सम्झौताअनुसार शैक्षिक तथा व्यावसायिक प्रशिक्षणमार्फत विद्यार्थीलाई उद्योग तथा बजारको बदलिँदो मागअनुसार आवश्यक सीप र दक्षता विकास गर्न सहयोग गरिनेछ । साथै, अध्ययन पूरा गरेलगत्तै रोजगार बजारमा प्रवेश गर्न सक्षम जनशक्ति उत्पादन गर्ने लक्ष्य राखिएको कलेजले जनाएको छ ।

एन अब्सेसन इन्टरनेशनल प्रा.लिसँगको सहकार्यअन्तर्गत विद्यार्थीलाई सौन्दर्य तथा खुद्रा व्यापार (रिटेल) क्षेत्रसँग सम्बन्धित व्यावहारिक प्रशिक्षण प्रदान गरिनेछ । यसमा कस्मेटिक्स उत्पादनसम्बन्धी ज्ञान, ग्राहक सेवा, बिक्री व्यवस्थापन, भिजुअल मर्चेन्डाइजिङ तथा आधारभूत स्टोर व्यवस्थापनसम्बन्धी अभ्यास समेटिनेछ । यस कार्यक्रमले विद्यार्थीको व्यवहारिक क्षमता, आत्मविश्वास र उद्योगसम्बन्धी बुझाइ विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

त्यस्तै, नारायण इन्टरनेशनल प्रा.लिसँगको सहकार्यबाट विद्यार्थीले सञ्चार, मनोरञ्जन तथा चलचित्र निर्माण क्षेत्रको व्यावहारिक अनुभव प्राप्त गर्नेछन् । कार्यक्रमअन्तर्गत सामग्री निर्माण, ग्राफिक डिजाइन, भिडियो सम्पादन, डिजिटल साम्रगी उत्पादन तथा स्टोरीटेलिङ जस्ता विषयमा आधारभूत तथा उन्नत तालिम सञ्चालन गरिनेछ । यसले विद्यार्थीलाई सिर्जनात्मकता विकास गर्दै सञ्चार तथा मनोरञ्जन क्षेत्रमा भविष्यका अवसर खोज्न सहयोग गर्ने विश्वास गरिएको छ ।
यस्तै, म्युजिक डट कम प्रा.लिसँगको समझदारीले संगीत, मिडिया तथा मनोरञ्जन उद्योगसँग सम्बन्धित सीप विकासमा केन्द्रित रहने जनाइएको छ । विद्यार्थीलाई संगीतसम्बन्धी ज्ञान, प्राविधिक तथा सिर्जनात्मक क्षमता अभिवृद्धि, प्रस्तुति र उत्पादनसँग सम्बन्धित अभ्यास तथा अनुभव प्रदान गरिनेछ । कार्यक्रमले विद्यार्थीको आत्मविश्वास, सहभागिता र व्यावसायिक तयारीलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ ।

सम्झौताअनुसार दुवै पक्षको आपसी सहमतिमा एमओयू संशोधन, नवीकरण वा अन्त्य गर्न सकिनेछ भने कुनै पनि पक्षले ६० दिनअगावै लिखित सूचना दिएर सम्झौता अन्त्य गर्न सक्ने व्यवस्था गरिएको छ ।
कलेजले यी सहकार्यले विद्यार्थीलाई अध्ययनसँगै उद्योग क्षेत्रको अनुभव, परामर्श तथा इन्टर्नसिप अवसर उपलब्ध गराउँदै रोजगारी उन्मुख शिक्षा प्रणालीलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरेको छ ।

