बजेटमा आर्थिक वृद्धि र समानताको सन्तुलनलाई प्राथमिकता दिइएको छ: अर्थमन्त्री डा. वाग्ले

काठमाण्डौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले समतालाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षको बजेट ल्याएको दाबी गर्नुभएको छ।

आज बसेको प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले समता र सामाजिक न्यायलाई बजेटको केन्द्रबिन्दु बनाइएको स्पष्ट पार्नुभयो । विपक्षी दलहरूले संविधानको मर्मविपरीत बजेट आएको भनी लगाएको आरोपको खण्डन गर्दै उहाँले बजेटमा आर्थिक वृद्धि र समानताको सन्तुलनलाई प्राथमिकता दिइएको उल्लेख गर्नुभयो । समन्यायिक समुन्नति र समृद्धिलाई बजेटको मुख्य लक्ष्य बनाइएको उहाँको भनाइ थियो ।

बजेटमा ‘समाजवाद’ शब्द स्पष्ट रूपमा उल्लेख नभए पनि समताको एजेन्डालाई व्यावहारिक रूपमा कार्यान्वयन गर्ने प्रयास बजेटमार्फत गरिएको अर्थमन्त्री डा. वाग्लेले बताउनुभयो । उहाँले सरकार पाँचवर्षे प्रतिवद्धता र जनताले अनुमोदन गरेको एजेन्डाप्रति दृढ रहेको उल्लेख गर्नुभयो । सरकारका नीति, कार्यक्रम, बजेटका सिद्धान्त तथा प्राथमिकता र बजेटबिच उच्च स्तरको सङ्गति रहेको उहाँले दाबी गर्नुभयो । उहाँले विपक्षी दलहरूलाई आफ्नो पार्टीको एजेन्डाजस्तो बजेट आएन भनेर गुनासो गर्ने छुट रहेको समेत बताउनुभयो ।

अर्थमन्त्री डा. वाग्लेले प्रश्न उठाउने सांसदहरूलाई व्यक्तिगत लाञ्छना लगाउनुअघि तथ्यमा आधारित हुन आग्रह गर्नुभयो । अर्थ मन्त्रालयमा बसेर करका दरमार्फत निश्चित व्यापारीलाई पोसेको भन्ने आरोपको खण्डन गर्दै उहाँले आफूमाथि लागेको दुई अर्ब रुपियाँको आशङ्का निराधार रहेको दाबी गर्नुभयो ।

उहाँले सार्वजनिक लेखा समितिमा समेत आफूविरुद्ध आएका समाचारहरूको खण्डन गरेको उल्लेख गर्दै जनताले सुशासनका लागि दिएको मतको अपमान नगर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

सुशासनको कठोर प्रतिवद्धतासहित आएको दुई महिनामै जनतालाई धोका दिन नसकिने जिकिर गर्दै उहाँले आफूमाथि औँलो ठड्याउनेहरूलाई पनि नैतिक उचाइ कायम राख्न आग्रह गर्नुभयो । उहाँले आफ्नो बारेमा प्रश्न उठाउने सांसदहरूका पुराना सन्दर्भहरूतर्फ सङ्केत गर्दै तथ्यहरू क्रमशः उजागर हुने बताउनुभयो ।