रास्वपा महोत्तरीको अधिवेशन आन्तरिक विवादका कारण अनिश्चितकालका लागि स्थगित

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महोत्तरी जिल्ला अधिवेशन आन्तरिक विवादका कारण अनिश्चितकालका लागि स्थगित गरिएको छ ।

हिजो शनिबारबाट जलेश्वरमा जारी अधिवेशनको दोस्रो दिनसम्म पनि दुई पक्षबीच सहमति जुट्न नसकेको हो । विवाद समाधानका लागि विभिन्न चरणमा छलफल भए पनि सहमति हुन नसकेपछि अधिवेशन अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको निर्वाचन संयोजक मनिषकुमार साहले जानकारी दिनुभयो ।

उहाँका अनुसार जिल्लाका प्रतिनिधिहरूसँग परामर्श तथा शान्ति/सुरक्षाको अवस्थालाई ध्यानमा राख्दै अधिवेशन रोक्ने निर्णय गरिएको हो । उक्त निर्णयमा रास्वपाका केन्द्रीय सदस्य डा. नन्दन यादव, देवनारायण महतो, प्रतिनिधिसभा सदस्य प्रमोद महतो, निर्वाचन समिति सदस्य महेश पुर्वे, पूजा झाललगायत नेताहरूको सहमति रहेको बताइएको छ ।

त्यस्तै, धनुषा जिल्लामा पनि रास्वपाभित्रको विवाद अझै समाधान हुन सकेको छैन । जिल्ला अध्यक्ष लक्ष्मेश्वर यादवमाथि मनोमानी ढंगले पार्टी सञ्चालन गरेको आरोप लगाउँदै असन्तुष्ट समूहले शनिबार रातीदेखि पार्टी कार्यालयमा तालाबन्दी गरेको छ ।

यसअघि धनुषाका पाँच पालिकाको अधिवेशनका क्रममा पनि विवाद चर्किँदा कार्यकर्ताबीच हातहालाहालको अवस्था सिर्जना भएको थियो ।