बार काउन्सिलमा कुलिङ पिरियड लागू, सरकारी सेवाबाट अवकाश भएकाले २ वर्षसम्म वकालत गर्न नपाउने

काठमाडौं । नेपाल कानुन व्यवसायी परिषद् (नेपाल बार काउन्सिल)ले न्यायाधीश, निजामती कर्मचारी, सुरक्षाकर्मी तथा स्थायी शिक्षकहरूलाई सेवा निवृत्त हुनेबित्तिकै कानुन व्यवसाय (वकालत)मा आउन रोक लगाएको छ ।

परिषद्ले एक सूचना जारी गर्दै सरकारी सेवाबाटे गरी विश्राम अवधि (कुलिङ अफ पिरियड) लागू गरेको जानकारी दिएको हो ।

सेवा निवृत्त हुनेबित्तिकै बार काउन्सिलमा प्रमाणपत्र अद्यावधिक गरी कानुन व्यवसायमा आउँदा ‘स्वार्थको द्वन्द्व’ भई निष्पक्षतामा समेत प्रश्न उठिरहेको सन्दर्भलाई मध्यनजर गर्दै परिषद्ले यस्तो निर्णय लिएको स्पष्ट पारेको छ ।

परिषद्का सचिव श्रीराम खनालद्वारा जारी सूचनाअनुसार, गत मंसिर १ गते बसेको परिषद् बैठकले उक्त निर्णय गर्दै ‘आन्तरिक कार्य व्यवस्था सञ्चालन नियमावली, २०५५’ को नियम १३ समेत संशोधन गरेको हो ।

कस–कसलाई लागू हुन्छ यो व्यवस्था ?

परिषद्को निर्णयअनुसार यसअघि नै कानुन व्यवसायीको प्रमाणपत्र लिइसकेका तर सरकारी सेवामा कार्यरत रहेका व्यक्तिहरूले अब अवकाश पाएको २ वर्ष पूरा भएपछि मात्र प्रमाणपत्र अद्यावधिकका लागि निवेदन दिन पाउनेछन् ।

१. नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहको सेवामा स्थायी नियुक्ति पाई कार्यरत निजामती कर्मचारीहरू

२. न्यायाधीश वा न्याय सम्पादनको कार्यमा संलग्न व्यक्तिहरू

३. नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत व्यक्तिहरू

४. सङ्घ, प्रदेश र स्थानीय तहबाट पारिश्रमिक लिने विद्यालयका स्थायी शिक्षक तथा अन्य कर्मचारीहरू

सरकारी पद तथा न्यायिक र सुरक्षा निकायमा लामो समय काम गरेर अवकाश पाउनेबित्तिकै अदालतमा बहस पैरवी गर्न जाँदा पुराना सहकर्मी र निकायहरू प्रभावित हुन सक्ने भन्दै लामो समयदेखि ‘कुलिङ अफ पिरियड’ राख्नुपर्ने आवाज उठ्दै आएको थियो ।