प्रधानमन्त्रीकाे भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
काठमाण्डाै । प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमण मन्त्रिपरिषद् बैठकबाट स्वीकृत भएको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले पर्सि आइतवारदेखि हुने दुई दिने राजकीय भ्रमण स्वीकृत गर्ने निर्णय गरेको सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले जानकारी दिनुभयो ।
सरकारले भोटेकोशी बाढी प्रभावितका लागि चीन सरकारबाट प्राप्त हुने २० लाख अमेरिकी डलर अर्थात् झन्डै ३० कराेड रुपैयाँ अनुदान स्वीकार गर्ने निर्णय गरेको छ ।
बैठकले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) बाट र्यापिड क्रेडिट फ्यासिलिटी अन्तर्गत प्राप्त हुने झन्डै १० कराेड ७० लाख अमेरिकी डलर अर्थात् १६ अर्ब रुपैयाँ बराबर निर्ब्याजी सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेकाे छ ।
सरकारले देशभर नापजाँच हुन बाँकी रहेका सरकारी, सार्वजनिक र सामुदायिक जग्गा नापजाँच गरी लगत तयार गर्नका लागि आदेश जारी गर्ने निर्णय गरेकाे छ ।
बैठकले राष्ट्रिय जैविक विविधता रणनीति तथा कार्ययोजना २०२६–२०३० स्वीकृत गर्ने; ऐतिहासिक, पुरातात्त्विक र सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी नम्स २०८३ स्वीकृत गर्ने र राष्ट्रिय झोलुङ्गे पुल नीति–२०८३ स्वीकृत गर्ने निर्णय गरेको सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले जानकारी दिनुभयो ।

