दिदीबहिनी तथा दाजुभाइ नहुनेका लागि बालगोपालेश्वर मन्दिर खुला
काठमाण्डौ । भाइटीकाका दिन आज काठमाण्डौको रानीपोखरी बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुला गर्ने गरिन्छ ।
वर्षमा एक पटक भाइटीकाका दिनमात्र खुल्ने यो मन्दिरमा दिदीबहिनी वा दाजुभाइ नहुनेले पूजा, दर्शन गरी टीका लगाउने गर्छन् । यसैगरी, जयवागेश्वरीको खञ्जनेश्वर महादेव मन्दिरमा पनि दिदीबहिनी वा दाजुभाइ नहुनेले पूजा, दर्शन गरी टीका लगाउने प्रचलन रहेको संस्कृतिविद् एवम् गुठी संस्थानका अध्यक्ष डा. गोविन्द टण्डनले जानकारी दिनुभयो ।
२०३५ सालपछि रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिर नियमित रूपमा खुल्न थालेकोमा २०७२ साल वैशाख १२ गतेको गोरखा भूकम्पले मन्दिर क्षतिग्रस्त भएपछि २०७७ सालसम्म दिदीबहिनी तथा दाजुभाइ नहुने भक्तजन खञ्जनेश्वर महादेव मन्दिरमा पुग्ने गरेका थिए ।
भूकम्पपछि पुनर्निर्माण गरिएको बालगोपालेश्वर मन्दिर २०७७ देखि फेरि भक्तजनका लागि खुला गरिएको हो ।

