आज, भोलि र पर्सिसम्म देशका धेरै ठाउँको मौसम सफा रहने
काठमाण्डौ । आज, भोलि र पर्सिसम्म देशका धेरै ठाउँको मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको आंशिक प्रभावका कारण थोरै ठाउँमा मात्रै छिटपुट वर्षा र हिमपातको सम्भावना छ ।
आज देशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली छ । हिमाली एक/दुई ठाउँमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । तराई, उपत्यका तथा खोँचमा बिहानपख थोरै ठाउँमा हुस्सु/कुहिरो लागेको छ ।
भोलि भाइटीकाका दिन पनि मौसम घमाइलो हुनेछ । हिमाली थोरै ठाउँमा हिमपात तथा पहाडी एक/दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
पर्सि २६ गते बिहीबार देशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बादल लाग्नेछ भने तराईमा मौसम मुख्यतया सफा रहने अनुमान छ ।

