धरानमा ४७ किलो विस्फोटक पदार्थको कम्पोनेन्ट बरामद, तीन जना प्रहरी नियन्त्रणमा
काठमाण्डौ । सुनसरीको धरानमा प्रहरीले ४७ किलो विस्फोटक पदार्थ बनाउन प्रयोग हुने सामग्री बरामद गरेको छ । भन्सार छली ल्याइएका विभिन्न सामानसहित मिनी ट्रकमा लुकाएर राखिएको अवस्थामा उक्त पदार्थ बरामद भएको हो ।
प्रहरीले घटनामा संलग्न रहेको आरोपमा मोरङको विराटनगर महानगरपालिका–४ छिटाहाका २५ वर्षीय प्रदीपकुमार साह, जहदा गाउँपालिका–१ का ४२ वर्षीय भूपेन्द्र राजवंशी र सोही स्थानका ४२ वर्षीय कार्तिक राजवंशीलाई नियन्त्रणमा लिएको छ ।
इटहरीबाट धरान तर्फ जाँदे गरेको को प्र –०२–००२ ख १६१८ नम्बरको मिनी ट्रक जाँच गर्ने क्रममा बोराभित्र प्याकिङ गरेर राखिएको पारदर्शी सेतो ठोस पदार्थ फेला पारेको थियो ।
बरामद पदार्थ परीक्षणका लागि नेपाल प्रहरीको केन्द्रीय विधिविज्ञान प्रयोगशाला सामाखुसी, काठमाडौं पठाइएको थियो । प्रयोगशालाको परीक्षण प्रतिवेदनमा उक्त पदार्थ ‘कम्पोनेन्ट अफ लो एक्सप्लोसिभ (गन पाउडरर ब्ल्याक पाउडर) भएको उल्लेख छ ।
प्रहरीका अनुसार मिनी ट्रकमा सवार व्यक्तिहरूले नियन्त्रणमा लिन खोज्दा प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेका थिए । उनीहरूमाथि इलाका प्रहरी कार्यालय धरानबाट अभद्र व्यवहार मुद्दामा अनुसन्धान भइरहेको छ ।
प्रयोगशालाको प्रतिवेदनपछि उनीहरूमाथि विस्फोटक पदार्थसम्बन्धी कसुरमा समेत थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । प्रहरीले बरामद पदार्थ कहाँबाट ल्याइएको थियो र यसको प्रयोजन के थियो भन्ने विषयमा थप अनुसन्धान गरिरहेको छ ।

