जलवायु संकट र विपद् व्यवस्थापनबारे मदन भण्डारी फाउन्डेसनको अन्तरसंवाद
काठमाण्डौ । मदन भण्डारी फाउन्डेसनको आयोजनामा शनिबार काठमाडौंमा ‘हिमाल, जलवायु र विपद्’ विषयक अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा सम्माननीय पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
नेपालमा जलवायु परिवर्तनका कारण हिमाली क्षेत्र, जलस्रोत, कृषि, खाद्य सुरक्षा तथा विपद् व्यवस्थापनमा देखिएका चुनौतीबारे केन्द्रित उक्त कार्यक्रममा विज्ञ, नीति विश्लेषक, प्राध्यापक, जलवायु अधिकारकर्मी तथा स्थानीय तहका प्रतिनिधिहरूसंग संवाद गरिएको थियो ।
कार्यक्रममा वातावरण तथा नीतिगत विश्लेषक पशुपतिनाथ कोइराला, युवा तथा जलवायु न्याय विज्ञ मेगा मास्के, त्रिभुवन विश्वविद्यालय केन्द्रीय भूगोल विभागका प्राध्यापक डा. प्रेम सागर चापागाईँ, हिमनदी वैज्ञानिक डा. मोहनबहादुर चन्द, पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानका प्राध्यापक डा. विष्णु प्रसाद पाण्डे, सामाजिक–आर्थिक विश्लेषक तथा जलवायु न्याय विज्ञ डा. यमुना घले, रसुवाको उत्तरगया गाउँपालिकाका अध्यक्ष माधव अर्याल, दिगो विकास इन्स्टिच्युटका सह–संस्थापक अभिषेक श्रेष्ठ, पूर्वमन्त्री डा. मदनप्रसाद परियार, पूर्वसचिव डा. दीपक खराल तथा त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति प्रा. डा. दीपक अर्याल लगायतले आफ्ना धारणा प्रस्तुत गर्नुभएको थियो।
वक्ताहरूले जलवायु परिवर्तनको प्रत्यक्ष प्रभाव हिमाली क्षेत्रमा तीव्र रूपमा देखिन थालेको, हिमनदी पग्लिने दर बढ्दै गएको तथा हिमताल विस्फोटको जोखिम उच्च बन्दै गएको विषयमा चिन्ता व्यक्त गरेका थिए। उहाँहरुले जलवायुजन्य विपद्को प्रभाव न्यूनीकरणका लागि वैज्ञानिक अनुसन्धान, प्रभावकारी नीति निर्माण, स्थानीय तहको क्षमता अभिवृद्धि तथा समुदाय–केन्द्रित कार्यक्रम आवश्यक रहेको धारणा राख्नुभएको थियो।
कार्यक्रममा जलवायु न्याय, कृषि उत्पादन, खाद्य सुरक्षा, जलस्रोत व्यवस्थापन तथा विपद् पूर्वतयारीका विषयमा समेत गहन छलफल भएको थियो। सहभागीहरूले जलवायु परिवर्तनका असर सामना गर्न सरकार, शैक्षिक संस्था, अनुसन्धान केन्द्र र स्थानीय समुदायबीच समन्वयात्मक प्रयास अपरिहार्य रहेको बताएका थिए। कार्यक्रमको समापन गर्दै फाउन्डेसनकी अध्यक्ष उषाकिरण भण्डारीले जलवायु परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी बहसलाई थप प्रभावकारी बनाउन यस्ता अन्तरसंवाद कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो ।



