मदन भण्डारी कलेजमा १६ घण्टाको डेभअप्स र सफ्टवेयर परीक्षण कार्यशाला सञ्चालन

काठमाण्डौ । मदन भण्डारी मेमोरियल कलेजमा १६ घण्टाको डेभअप्स तथा सफ्टवेयर परीक्षण सम्बन्धी कार्यशाला सञ्चालन भइरहेको छ।

गत शनिबारदेखि कलेजको सभाहलमा सुरु भएको कार्यशाला शनिबार र आइतबार गरी चार–चार घण्टाका दरले सञ्चालन भइरहेको कलेजको बीएससी सिएसआईटी विभागका विभागीय प्रमुख तथा कार्यक्रम संयोजक प्रज्वल भण्डारीले जानकारी दिनुभयो।

उहाँका अनुसार सफ्टवेयर परीक्षण सम्बन्धी कार्यशाला क्यूए अटोमेसन इन्जिनियर अबिरल पौडेलले शनिबार र डेभअप्स सम्बन्धी कार्यशाला प्रशिक्षक सुमित खड्गीले आइतबार सञ्चालन गरिरहुनु भएको छ। दुवै कार्यशाला कुल १६ / १६ घण्टाको सञ्चालन हुने उहाँले बताउनु भयो ।

कलेजमा अध्ययनरत बीएससी सिएसआईटी आठौं सेमेस्टरका सम्पूर्ण विद्यार्थीका लागि सफ्टवेयर परीक्षण कार्यशाला तथा छैटौं सेमेस्टरका विद्यार्थीका लागि डेभअप्स कार्यशाला सञ्चालन गरिएको विभागीय प्रमुख भण्डारीले बताउनु भयो ।

भण्डारीका अनुसार उक्त कार्यशालाले बीएससी सिएसआईटीमा अध्ययनरत विद्यार्थीलाई सफ्टवेयर परीक्षण सम्बन्धी ज्ञान र सीप प्रदान गर्नेछ। यसले विद्यार्थीलाई पाठ्यपुस्तकमा मात्र सीमित नराखी अतिरिक्त प्राविधिक सीप विकास गर्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास गरिएको छ।

उहाँले कलेजले विभिन्न सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरूका लागि यस्ता अतिरिक्त कार्यशाला नियमित रूपमा सञ्चालन गर्दै आएको पनि जानकारी दिनु भयो। हालै मात्र तेस्रो र चौथो सेमेस्टरका विद्यार्थीका लागि २४ घण्टाको रोबोटिक्स कार्यशाला सञ्चालन गरिएको उहाँले बताउनु भयो ।

सूचना प्रविधि क्षेत्रको बढ्दो आवश्यकता र उद्योगको मागलाई ध्यानमा राख्दै विद्यार्थीहरूलाई व्यावहारिक ज्ञान तथा सीप प्रदान गर्ने उद्देश्यले यस्ता कार्यशालाहरू सञ्चालन गरिँदै आएको उहाँको भनाइ छ ।  मदन भण्डारी मेमोरियल कलेजले प्राविधिक शिक्षालाई अझ बढी प्रभावकारी बनाउन प्रयोगात्मक र अतिरिक्त क्रियाकलापहरूलाई उच्च प्राथमिकता दिने गरेको छ।  यस्ता प्राविधिक कार्यशालाहरूले विद्यार्थीहरूको आत्मविश्वास बढाउनुका साथै उनीहरूलाई बजारको माग अनुसार योग्य आईटी जनशक्ति बन्न मद्दत पुग्ने विश्वास कलेजले लिएको छ।