नक्कली भुटानी शरणार्थी प्रकरण : टोपबहादुरसहित नौजना दोषी, सातजनाले पाए सफाइ
काठमाण्डौ । नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाण्डौ जिल्ला अदालतले पूर्वमन्त्री टोपबहादुर रायमाझीसहित नौजनालाई राज्यविरुद्धको कसुरमा दोषी ठहर गरेको छ ।
आज मंगलबार न्यायाधीश तेजबहादुर खड्काको इजलासले राज्यविरुद्धको कसुरमा नौजनालाई दोषी ठहर गरेको हो ।
टोपबहादुरसहित राज्यविरुद्धको कसुरमा दोषी ठहर हुनेहरूमा पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्रीका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई, केशवप्रसाद दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, विक्रम भन्ने गोविन्दकुमार चौधरी र आङटावा शेर्पा छन् ।
त्यसैगरी, अदालतले नक्कली शरणार्थी प्रकरणमा मुछिएकामध्ये सातजनालाई सफाइ दिएको छ ।
न्यायाधीश खड्काको इजलासले ठगी, संगठित अपराध र राज्यविरुद्धको कसुरमा मुछिएकामध्ये रामशरण केसी, टंककुमार गुरुङ, सन्दीप रायमाझी, प्रतीक थापा, लक्ष्मी महर्जन, केशव तुलाधर र आशिष बुढाथोकी गरी सातजनालाई सफाइ दिएको हो ।
सन्दीप पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा हुन् भने प्रतीक रामबहादुर थापा बादलका छोरा हुन् ।

